सरकारविरुद्ध कांग्रेस नेताहरुको आक्रोशः कांग्रेसलाई कम नआँक्न चेतावनी


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारका कारण देशमा राजावादीहरु सक्रिय भएको आरोप लगाएका छन् ।

हेटौंडामा सोमबार पार्टीको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै सभापति देउवाले देशमा वर्तमान व्यवस्थाको विरुद्धमा राजावादीहरुको प्रदर्शनमा कम्युनिस्ट सरकार मुख्य जिम्मेवारी भएको बताए । उनले गणतन्त्रलाई ठीक पार्ने र लोकतन्त्रलाई संस्थागत गर्ने पार्टी कांग्रेस मात्रै भएको दाबी गरे । उनले भने, ‘देशमा राजा आउ, देश बचाउ भनेका छन् । किन भनिरहेका छन् भन्दा कम्युनिस्ट सरकारका कारण । राजा फर्किने अवस्था छैन । कुनै पनि अवस्थामा यो सम्भव हुन्न ।’

देउवाले ओली सरकार र कम्युनिस्ट सरकारको गतिविधिका कारण जनता आजित भएको बताए । अदालतलाई पनि कम्युनिस्टकरण गर्न खोजेर सरकारले निष्पक्ष न्यायपालिकालाई समेत प्रभाव पारेको आरोप लगाए । उनले कोरोना महामारीका बेला विरोधसभा गर्नु बाध्यात्मक कुरा भएको बताए ।

काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली नेतृत्वको सरकार भ्रष्टाचारमा डुबिसकेको आरोप लगाए । उनले वाइडबडीदेखि औषधि खरिदसम्म भ्रष्टाचार भएको बताए ।

बढी शक्तिले धेरै भ्रष्ट बनाउँछ भन्ने प्रधानमन्त्री कार्यालयमा देखिएको उनले आरोप लगाए । पौडेलले मन्त्रीहरूले भष्टाचार गरेका काण्ड बाहिर आउँदा प्रधानमन्त्रीले चोख्याउने काम गर्ने गरेको बताए ।

त्यसैगरी हेटौंडामा आयोजित विरोध सभालाई सम्बोधन गर्दे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले कात्रोमा पनि भ्रष्टाचार गरेको आरोप लगाए । उनले कोरोना माहामारीका बेला औषधि खरिदमा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको बताए ।

पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा गरिएको दुव्र्यवहारले सरकार सर्वसत्तावाद लागू गरेको भन्दै कांग्रेस चुप लागेर नबस्ने बताए । प्रवक्ता शर्माले सत्तारुढ पार्टी र उक्त पार्टीका नेताहरुभन्दा जेठो भएकाले कम नआँक्न चेतावनी दिए ।

कैलालीको धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस नेता गगन थापाले नेकपा पार्टी नै नभएको भन्दै लोभीपापीहरुको मञ्च भएको आरोप लगाए । विरोधसभा अघि कांग्रेसले ७७ वटै जिल्लामा सडक प्रदर्शन गरेको थियो ।