मुलुक यसरी तन्नम हुँदै गएको न हो !
भीम उपाध्याय ।
अमेरिका, बेलायत वा क्यानाडा जस्ता विकसित मुलुकहरू विश्वभरिबाट ब्रेन हन्टिङ गर्ने मुलुक रहेछन् । विकासशील देशमा त्यसै ब्रेनको खाँचो छ, त्यसमाथि केही दिमाग र क्षमता भएकाहरू पनि विदेशले हामी कहाँ आउ कि आउ भनेर रेडकार्पेट ओछ्याएर लगेपछि नेपाल जस्तो मुलुकलाई उँभो लगाउने कुन बुद्धि भएका कसले होला त ?
विजुली, टेलिफोन, खानेपानी, फोहरमैला, इन्टरनेट, कर बुझाउने, कर तिर्ने, खाल्डे धूले हिले बाटो हिँड्नुपर्ने, ढल गन्हाउने, जिन्दगीभरि एउटा घर बनाउन, एउटा सुबिधाका लागि सानो गाडी चढ्ने प्रयत्नमा नै जिवन बित्ने, त्यति भोग गरेको देख्दा नै पनि अनेक लान्छना लगाउने, डाहा गर्ने, अनेक आरोप लगाएर मुद्दा मामिलामा फसाउने, समाजमा बदनाम गर्ने, सरकारी निकायहरू वा कर्मचारीबाट दुःख पाएकोमा कता उजुरी गर्ने पत्तै नचल्ने, कसैगरी नालिस गर्यो भने पनि केही कहीँ सुनुवाई कतै नहुने, नसुन्ने, सुने पनि कसैले भनेको कसैले नटेर्ने, दुःखजिलो गरेर अलिकति कमाएर जोगाएको पैसा जति पछि शुरु लागेर मु्द्दा खेपेरै भ्याईने, बिरामी पर्दा अस्पताल र डाक्टरको पछि लागेर बुंगो बन्नुपर्ने !
२१ औं शताब्दीको प्रथम एक चौथाई कालमा प्रवेश गरिसक्दा पनि नेपालमा बसेर संघर्ष गर्नुपर्छ भनेको जब यही यस्तैयस्तै वाहियात झन्झटबाट उम्कनमा नै जीवनको उर्जाकाल बित्छ वा बर्बाद बनाउनु पर्छ भने यस्तोमा आफ्नो बुद्धि, विवेक, क्षमता, सिप, विद्वताको प्रयोग कुन बेला, कसरी , कहाँ , किन , कसका लागि गर्न समय हुन्छ र गर्नु ? यस्ता बकम्फुसे संघर्षबाट थाकेपछि अन्ततः तिनै कवाडी परपीडक, विध्वंशकारी सोचका नेताहरू र दिमाग विषाक्त पारिएका तिनका पिछलग्गुहरूकै जुत्ताको तुना पुनः कस्नका लागि संघर्ष गर्नुपर्ने ?
अहिले धमाधम विश्वभरि माग भइरहेको बेलामा बुद्धि, सीप, ज्ञान भएकाहरूले नेपालमा बसेर यस्ता कुहिगन्धे संघर्ष के का लागि किन गरिरहने ? यो कुरा जति चाँडो बुझ्यो, जति छिटो दिग्भ्रमको निद्रा टुट्यो, त्यति कम जीवन बर्बाद भयो । क्षमताको मूल्य विश्व बजारमा देखाउनु नै पुरूषार्थ हो । पुरूषार्थीहरूलाई विकसित देशले रेडकार्पेट बिछ्याउने गर्छन् । क्षमतावान विद्वानहरूका लागि ’विर भोग्या बसुन्धरा !’
मिडिअकरहरूले जहाँ राज्यका हरेक निकाय र क्षेत्रमा कब्जा जमाउँछन्, त्यहाँ क्षमतावानहरूका लागि ह्याबिटेट मासिन्छ ।