पार्टीले गरेको निर्णय प्रधानमन्त्री ओलीले मान्नैपर्छः नेता बिंडारी


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले पार्टीले गरेको निर्णय पार्टी अध्यक्ष केपी ओलीले मान्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता बिडारीले पार्टी कुनै एक व्यक्तिको मात्र नभएको भन्दै पार्टीको हरेक निर्णय अध्यक्ष लगायत सबैले मान्नुपर्ने बताएका हुन् ।

उनले पार्टीभित्र निर्णय गर्दा कुनै समस्या देखिए बहुमत र अल्पमतको आधारमा हरेक बिषयको निर्णय हुन सक्ने तर्क गरे । त्यस्तै बिडारीले स्थायी कमिटीको आगामी बैठक अध्यक्ष ओली उपस्थित भएपनि नभएपनि बस्ने स्पष्ट पारे । त्यस्तै उनले अहिलेको सरकारले जनअपेक्षा अनुरुपको काम गर्न नसकेको बताए ।

फरक प्रसंगमा नेता बिडारीले पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको टेप प्रकरण आफूले पनि सुनेको भन्दै व्यक्तिगत लेनदेनको बिषय हुन सक्ने बताए । उनले नेताहरुको लगानीका बिषयमा छानविन गर्ने निकाय रहेको भन्दै आवश्यक परे छानविन हुनसक्ने पनि बताए । उनले लेनदेनसम्बन्धी टेप सार्वजनिक भएपछि सामाजिक सञ्जाल लगायतका वृत्तमा पक्ष र बिपक्षमा तर्क बितर्क हुन थालेका छन् ।