हामी भेडा भनिएका त्यसै होइनौं
नारायण गाउँले ।
हामी भेडा भनिएका त्यसै होइनौं । दश वर्षसम्म माओवादीले ‘सामन्तवाद’को सफाया अभियान चलायो, तर मारिने जति सबै पुलिस, सेना, शिक्षक, विद्यार्थी र किसान थिए । राज्यले माओवादी सफाया गऱ्यो । त्यहाँ पनि मर्ने जति सामान्य कार्यकर्ता थिए ।
न कुनै शोषक या सामन्त व्यापारीमाथि कारबाही भयो, न कुनै अकूत सम्पत्ति जम्मा गर्ने नेताहरू निशानामा परे । बड़ो कुशलतापूर्वक दुबै पक्षले तिनलाई जोगाए । १७ हजार मृत्युमध्ये कुनचाहिँ मृत्यु सामन्तको थियो ? कुनचाहिँ हत्या जस्टिफाइ गर्न सकिने खालको थियो ? राज्यले मारेका त्यत्रा ‘आतङ्ककारी’मध्ये माथिल्लो तहको नेता को थियो ? अनि, हिजो जसलाई सामन्त भनेर निहत्थाको हत्या गरेका थिए, तिनैको शालिकमा आज आफैले फूलमाला चढ़ाए । अनि जसलाई आतङ्ककारी भनियो, तिनैलाई भोट मागियो । यो सबै शक्तिको, पदको र अर्थको खेल थियो ।
अहिले विप्लवले फेरि भेड़ा बनाइरहेका छन् । क्रान्तिका नाममा । आज फेरि एक निरीह शिक्षक मारिएका छन् क्रान्तिका नाममा ! के शिक्षक मारेर नयाँ युग आउने हो ? के आजको बेथिति, भ्रष्टाचार र सामन्तवाद तिनै शिक्षकका कारण बढेको हो ? हिजो एनसेललाई ढाल बनाएर को मारियो ? भ्रष्टाचारी मारियो ? तिनले प्रचण्ड, ओली या देउबाविरुद्ध तपाईंको हातमा बन्दूक बोकाउँछन् र आफ्नै भाइलाई गोली ठोक्न लगाउँछन् । अहिले गाउँगाउँमा चन्दा असुलिने र सताइने फेरि तिनै गरिबहरू हुन् । विप्लवका ठूला नेता समातिन्छन्, केही दिन शानपूर्वक ‘जेल’मा बस्छन् र बिदा हुन्छन् । तिनलाई प्रतिबन्धले छुँदैन । तर, फेरि पनि राज्यले समातेर गोली ठोक्ने भनेको तिनै भुइँमान्छेहरूलाई हो ।
यो हिंसा भड्कियो भने मारिने सर्वसाधारण नै हो । यो सफल या असफल जे भए पनि विप्लवको रौँ हल्लिने होइन । भोलि उनी ठूलो मञ्चमा फूलमाला लगाएर कुनै अर्को पार्टी प्रवेश गर्न सक्छन् र आज प्रतिबन्ध लगाउनेले भोलि अँगालो हाल्छन् । गुमाउने त फेरि भुइँमान्छेले नै हो । विप्लवका छोराहरू शानसँग विदेश पढ्छन्, भोलि हातमुख जोर्नकै लागि विदेश जान खोज्दा पुलिस क्लियरेन्स नपाएर थच्चिनु पर्ने तपाईंहामी नै हो ।
आज तपाईंको हातमा बन्दुक बोकाउनेले भोलि जुत्ताचप्पल, हाते ब्याग या छाता बोकाउलान्, त्यो पनि तपाईं बाँचिरहनुभो भने र भाइभतिजको कृपा भइरह्यो भने । भएछ भने हुने परिवर्तन यत्ति हो ।
आँखा खोलौं । भेड़ो नबनौं !