खोप आएपछि जनजीवन कहिले होला सामान्य ?
अमेरिकाको कोभिड १९ खोप सम्बन्धी दलका प्रमुख वैज्ञानिकले आउँदो वसन्त याममा जनजीवन सामान्य हुनका लागि अमेरिकीहरूले अझै सुरक्षित उपायहरू पालना गर्नुपर्ने बताएका छन् । मोन्सेफ स्लोईले देशको खाद्य तथा औषधि निकाय एफडीएले यो साता एउटा बैठक गरेर खोपका लागि बाटो खोल्ने आफूले आशा गरेको बताए ।
डा. सलोई द्रूत गतिमा कोभिड १९ का खोप उत्पादन र आपूर्ति गर्नका लागि अमेरिकी सरकारले तयार पारेको कार्यक्रममा प्रमुख हुन् । पछिल्ला दिनमा अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणको दरमा उच्च विन्दुहरू देखा परेका छन् । त्यहाँ दैनिक ज्यान गुमाउनेको सङ्ख्यासमेत दुई हजार नाघेको छ । वृद्धिको पछिल्लो क्रमले अस्पतालमा चाप बढेको भन्दै आइतबारबाट क्यालिफोर्निया राज्यका धेरैजसो भागका लागि नयाँ लकडाउन तय गरिएको छ ।
स्वीकृति पाउने सम्भावित मिति नजिकिरहँदा राज्यहरूले समेत खोप वितरणको तयारी गरिरहेका छन् । बिहीवार एफडीएमा वेलायतले स्वीकृति दिएको फाइजर कम्पनीद्वारा निर्मित खोपको स्वीकृतिबारे छलफल गरिँदैछ । त्यसपछि १७ डिसेम्बरमा मोडर्नाले तयार पारेको अर्को खोपको स्वीकृतिबारे छलफल गरिँदैछ । डा. सलोईले एफडीएले लिइरहेको यो निकै मिहिन र महत्वपूर्ण प्रक्रिया भएको बताए ।
‘मलाई थाहा भएका विवरणअनुसार मैले एफडीएले सकारात्मक निर्णय गर्ने आशा गरेको छु। तर पनि त्यो निश्चय नै उनीहरूको निर्णय हो,’ उनले भने । ‘पहिलो चरणको खोप पठाउने काम त्यो स्वीकृति भएको भोलिपल्टै गरिनेछ।’
अमेरिकामा एफडीएले स्वीकृति दिएसँगै त्यो सुरुमा देशका दशौँ लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई दिइने अपेक्षा गरिएको छ । कसलाई प्राथमिकतामा राखेर खोप वितरण गर्ने भन्ने जिम्मा चाहिँ राज्यहरूको हातमा छ ।
सलोईले भने, ‘मलाई लाग्छ, हामीले जनवरी र फेब्रुअरी महिनामा सबैभन्दा जोखिममा रहेका मानिसहरूमा केही प्रभाव देख्न थाल्नेछौँ।’ तर जनसङ्ख्याको आधारमा हाम्रो जीवन सामान्य हुनका लागि हामीले अप्रिल वा मे महिना कुर्नुपर्ने उनको भनाई छ । उनी भन्छन्, ‘त्यसैले हामी सबैले अध्यारो सुरुङ्गको अर्को कुनामा प्रकाश छ भन्ने सोचेर सहजता महसुस गर्नुपर्छ। त्यही सोचेर मास्क लगाउने, दूरी कायम गर्ने, हात धुने कामलाई निरन्तरता दिनुपर्छ। त्यसले हामीलाई वसन्त याममा खोपको फाइदा उठाउने काम सुनिश्चित गर्न सक्छ।’