लघुकथा: दृस्टिकोण
प्रभादेवी पौडेल ।
पवनको भर्खर भर्खर बिहे भएपनि उ पत्नीसंग त्यति रमाएको थिएन।ऊ अफिसबाट ढिला आउने र खाना पनि बाहिरै खाएर आउथ्यो। उ आउॅदा उनी निदाई सकेकि हुन्थिन्। बुढाको यो चाला देखेर उनी चिन्तित भईन् । भर्खरको चढ्दो जवानी उमेर बुढाको त्यो किसिमको ब्यबहार उनलाई पटक्कै मन परेन।उनी पनि कहिले माईती जाने कहिले साथीसंग घुम्न जाने गर्न थालिन्। घरमा को कतिबेला आउॅछ जान्छ पत्तै हुदैनथ्यो।उनीहरु एक अर्कामा सम्पर्क नभै आफ्नै पाराले चल्न लागे।
उ भुल्ने ठाउॅमा नशाले मातिएको बेलामा उसकी साथीले भनि ,-“तपाई त निक्कै रोमान्टिक हुनुहुॅदो रहेछ, बिहे भाछ की भाछैन?” -” खै डार्लिङ के भयो भन्नु के भएन भन्नु एउटी झार पात त छ, न लाउॅने खाने ढंग छ न रमाऊन नै ,अनि तिमी पनि कम रोमान्टिक छौनौ नी, त्यहि भएर मैले रोजी नामको टिकट पहिल्यै बुक गर्छु।” उसका कुरा सुनेर उसले भनि,-” तपाईको घरमा आपत्ती छैन भने जानुहोस् म्यानेजर संग कुरा मिलाएर आउनुहोस् आजको पुरै रात संगै बिताउँ ।”पार्टनर को कुरा सुनेर उसले भन्यो ,-“सबै आफ्नो मर्जी हो तिमी चाहन्छेउ भने म एक रात त के पुरै जिन्दगी तिमीसंगै बिताउन चाहन्छु।” -“अनि घरकीलाई के के गर्नुहुन्छ नी ?” -“मलाई लाग्छ उसले पनि आफ्नो सुर गर्न लागेकी छे,मैले अहिले सम्म छोएको पनि छैन उसलाई ।” पवनको कुरा सुनेर रोजिले हाॅस्दै भनि तर सुरक्षित उपाय भने अपनाऊनू पर्छ है।”
उनीहरु रोमान्टिक पाराले रात बिताए।बिहान रोजी पवनको काखको सिरानी हालेर आनन्द संग निदाई रहेकी थिई। पवनले हेल्लो डार्लिङ भनेर ब्युझाई दियो।उ बाहिर निस्कन हतारिएको थियो। रोजिले हात समाउॅदै सोधि, -” तल काउन्टरमा कति पैसा तिर्नु भयो?” -“दशहजार “उसले भन्यो। यो सुनेर रोजिले भनि,- “तपाईले सित्तैमा प्राप्त गर्ने बस्तुलाई मुल्य तिरिरहनू भएकोछ,यहाॅ नौलो चिज त खासै केहि थपिएको थिएन,मान्छे एउटै कृयाकलाप एउटै तर फेशन र स्थान ले त्यति प्रभाब पार्ने रहेछ हगी?मन मिले त यतिको रोमान्स हामी घरमै गर्न सक्ने रहेछौ नी।”रोजीको कुरा सुनेर पवन लज्जित भयो।
भरतपुर ९, चितवन