काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ । मंसिर १३ गते बस्ने अर्को बैठकका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र छलफलका लागि छुट्टै्र प्रस्ताव ल्याउने भएका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी मंसिर १३ गते बस्ने सचिवालय बैठकमा ओलीले आफ्नो प्रस्ताव पेश गर्ने तय भएको र यसअघि नै प्रचण्डले पेश गरेको तथा ओलीले ल्याउने दुबै प्रस्तावमाथि छलफल हुने जानकारी दिए । यसअघिको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले बुहमत सदस्यको समर्थनमा १९ पेज लामो प्रस्ताव पेश गरेपछि ओली पक्ष असन्तुष्ट भएको थियो । बैठकपछि ओली पक्ष आक्रोसित देखिएको छ । सामाजिक संजालमा उनीहरुले आक्रोश पोखेका हुन् । तर पार्टी उपाध्यक्ष वामदेव गौतमले भने प्रचण्डको प्रस्तावमा सतिसालझैं अडिग रहेको जनाएका छन् ।
कुन नेताले के भने ?
शंकर पोखरेल ।
पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय वैठकले प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्षलाई वैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ । पार्टी एकताले पूर्णता नपाउँदै समानन्तर दस्तावेज बाटो एकतातर्फको बाटो अवश्य होइन । १० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका कमरेडहरु गम्भीर बन्नुहोस् । अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरुगर्नेछ ।
ईश्वर पोखरेल
नेकपाको सचिवालयको बैठकको सार कुरा
———————————————
आफूमाथि लगाइएका “ तथ्यहीन , आधारहीन, पार्टी एकतामा गंभीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू” लाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले सचिवालयको बैठकमा । त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गर्नुभएको छ , उहाँले । यी आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने कुराको समेत उल्लेख गर्नुभएको छ । यो गम्भीरतालाई पार्टी एकताको पक्षमा उभिनु भएका नेकपाका सबै तहका नेता , कार्यकर्ताहरूले बुझौं र त्यसै अनुसार आफूलाई तयार बनाऔं !!
वामदेव गौतम
नेकपा उपाध्यक्ष क.वामदेव गौतमले अध्यक्ष क.प्रचण्डका प्रस्ताव फिर्ता हुनुपर्ने जस्ता कुरा आजको सचिवालय बैठकमा राख्नुभयो भनी केही न्युज पोर्टलहरुमा आएका समाचार पूर्णतः झुठो हो, गोयवल्स शैलीको छ ।
आजको सचिवालय बैठकलाई सौहाद्रतापूर्ण तवरले सञ्चालन गर्नुपर्ने चुनौति थियो । आज क.प्रचण्डको प्रस्तावमाथि छलफल गर्ने भन्ने कुनै एजेण्डा पनि थिएन । त्यसकारण वामदेव कमरेडलगायतका अन्य नेता कमरेडहरुले सौहाद्रतालाई ख्याल गर्दै कुनै किसिमको उत्तेजक अभिव्यक्ति आजको बैठकमा दिनुभएन । तर, समाचारहरुमा चर्काचर्की भयो, धम्साधम्सी भयो भन्दैभन्दै क.वामदेव गौतमले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने कुरा गरेकोसम्मका कपोलकल्पित कुरा आए । वास्तवमा आजको बैठकमा त्यस किसिमका कुनै कुरा उठेका छैनन् । अध्यक्ष तथा प्रधानमन्त्री क.केपी शर्मा ओलीले आफ्नो तर्फबाट पनि प्रस्ताव दर्ज गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएपछि बैठकको सौहाद्रतामा अझ बल पुगेको थियो ।
क.प्रचण्डले पेश गर्नुभएका प्रस्तावहरु क.वामदेव गौतमको समेत सहमतिमा आएको र त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्ने कुरामा उहाँ सतिसालझैँ अडिग हुनुहुन्छ । यसबीचमा सम्माननीय राष्ट्रपति, प्रधानमन्त्रीहरुसँगको भेटमा पनि उहाँले यो कुरा व्यक्त गरिसक्नुभएको छ । प्रचण्डले पेश गर्नुभएका प्रस्तावहरु नेकपाका समस्त एकताप्रेमी, परिवर्तनकामी एवं विधि र पद्धति पक्षधर नेता–कार्यकर्ताको सामूहिक आवाज हो । क.केपी ओलीलाई धरातीय यथार्थबाट माथि (हावामा) उडाएर उहाँको सुन्दर राजनीतिक जीवनमा क्षति पुर्याउने काम तुरुन्त रोकियोस् । उहाँलाई खुशी पार्ने नाममा अरु नेताको बद्नामी गर्ने, भ्रम सिर्जना गर्दै अरु नेताको बदख्वाइँ गर्ने काम पनि तत्काल बन्द गरियोस् ।
क.वामदेव गौतमको सचिवालय
भैसेपाटी, ललितपुर

प्रतिक्रिया