सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्रमा : उपेन्द्र यादव
जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।
जसपा निकट युवा संघले मंगलबार जनकपुरधाममा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले नेपालको संविधानले अपरवर्तनीय रुपमा राखेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सरकारले चुनौैती दिने चेष्टा गरेको बताए ।
मुलुक कोरोना महामारीको संकट झेलीरहेको समयमा सरकारको मुख्य कर्तव्य जनताको ज्यानको सुरक्षा हुनुपर्नेमा त्यसबाट विमुख भई अन्य चलखेलमा लाग्नु मुलुकको लागि दुर्भाग्य रहेको बताए ।
जनताको जिउधनको सुरक्षा गर्न नसक्ने सरकारको आवश्यकता नरहेको उल्लेख गर्दै यादवले आफूहरु सरकार विरुद्ध सबै मोर्चामा लड्ने उल्लेख गरे ।
आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै विभेद रहित समृद्ध मुलुकको निर्माणका लागि वैकल्पिक शक्तिको रुपमा जसपाको गठन भएको उल्लेख गर्दै अध्यक्ष यादवले शिक्षित र सक्षम युवाहरुलाई नेतृत्व गर्ने समय आइसकेको बताए ।
विश्वका हरेक परिवर्तनको नेतृत्व युवाहरुले नै गरेको उल्लेख गर्दै अध्यक्ष यादवले मुलुकको विकास र समृद्धिको लागि शिक्षित र सक्षम युवाहरुलाई अगाडी बढन आग्रह समेत गरे ।