थप ५ सय ४४ गैरआवासीय नेपालीलाई कोरोना संक्रमण, एक जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपव्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोराना संक्रमण देखिएको छ ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा रहेका थप १ हजार १ सय ६३ जना नेपाली कोरोना संक्रणमुक्त भएका छन् भने थप ५ सय ४४ जनामा संक्रमण देखिएको छ ।
समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विदेशमा ४४ हजार १ सय १३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । ती मध्ये ४० हजार ७ सय २८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् । यो साता स्पेन, नेदरल्याण्ड, चेक रिपव्लिक, डेनमार्क, अष्ट्रिया रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता साउदी अरबमा थप १ जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ । संघका अनुसार विदेशमा १८ देशमा २ सय ८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।