जो बाइडन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित


जो बाइडन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्रेटिक पार्टीका उम्मेदवार अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन् ।

बीबीसीले गरेको प्रक्षेपण अनुसार उनले यो महत्वपूर्ण राज्यमा जित हासिल गरेपछि उनीसँग २७३ इलेक्टरल कलेज मत हुनेछ जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो । उनी प्रतिस्पर्धात्मक निर्वाचनमा डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका छन् । ट्रम्प पक्षले हार स्वीकार नगर्ने सङ्केत दिएको छ ।

यो नतिजाले ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ । बीबीसीको प्रक्षेपण मतगणना सम्पन्न भएको पेन्सिल्भेनियाको अनौपचारिक नतिजाका साथसाथै विस्कन्सिनजस्ता राज्यमा उनले जित्ने सम्भावनामा आधारित छ ।

सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् जुन कुनैपनि अमेरिकी राष्ट्रपतिले हालसम्म प्राप्त गरेको मतभन्दा बढी हो । ट्रम्पको लगभग सात करोड छ जुन इतिहासमै राष्ट्रपतीय उम्मेदवारले पाएको दोस्रो ठूलो मतसङ्ख्या हो ।

को हुन् त जो बाइडन ?

जो बाइडनले राजनीतिमा पहिलो पाइला चाल्दा अहिलेका कैयौँ मतदाता जन्मिएका पनि थिएनन् । बाइडनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए । अनि उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो । उनी मतदातालाई आकर्षित गर्न सक्ने स्वाभाविक नेता हुनुका साथै कुनै पनि बेला गलत वाक्य बोल्न सक्ने नराम्रो गुण भएका मानिस पनि हुन् ।

भिडका सामुन्ने बोल्दाबोल्दै चिप्लिँदा उनको पहिलो प्रचार अभियान सुरु हुनुभन्दा पहिल्यै खेर गएको थियो । बाइडन सक्षम तथा प्रखर सार्वजनिक वक्ता हुन् तर उनी कहिलेकाहीँ नराम्रो समाचारको सामग्री बन्छन् । एउटा र्यालीमा भाषण गर्दै उनले भनेका थिएः ‘मेरा पुर्खा उत्तरपूर्वी पेन्सिल्भेनियाका कोइलाखानीमा काम गर्थे।’ उनीहरूले जीवनमा अवसर नपाएकोमा आफू क्रोधित भएको उनले बताएका थिए । तर वास्तवमा उनका पुर्खा कोही पनि कोइलाखानीमा कामदार थिएनन् उनले त्यो वाक्य र अन्य कैयौँ वाक्य एक ब्रिटिश राजनीतिज्ञ निल किनकको भाषणबाट चोरेका थिए । पछि ’जो बम’का नामले परिचित बन्न पुगेका यस्ता विभिन्न गल्तीको शृङ्खलाको त्यो पहिलो कडी थियो ।

सन् २०१२ मा आफ्नो राजनीतिक अनुभवबारे बखान गर्दै उनले आफ्नो भाषणमा भने, ‘मैले आठ जना राष्ट्रपतिलाई चिनेको छु, तीन जनालाई त अत्यन्त निकट रूपमा।’ विचार नगरी उनले भनेको कुरालाई निकट मित्रता मात्र नभई यौन सम्बन्ध रहेको रूपमा समेत अथ्र्याउन सकिन्थ्यो । सन् २००९ देखि २०१७ को बीच बाइडन बराक ओबामाका उपराष्ट्रपति थिए । राष्ट्रपति ओबामाको उपराष्ट्रपतिको रूपमा सन् २००९ मा उनले ’अर्थतन्त्रमा हामीले हानि पुर्याउने ३० प्रतिशत सम्भावना छ’ भनेर मानिसहरूलाई त्रसित बनाइदिए । उनले ओबामालाई वर्णन गर्दै यसो भनेका थिए ‘अफ्रिकी अमेरिकी समुदायका पहिलो व्यक्ति जो प्रखर वक्ता छ, तीक्ष्ण र स्वच्छ अनि आकर्षक छ।’ तापनि भाग्य नै भन्नुपर्छ अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिले उनलाई उपराष्ट्रपतिमा चुने ।

अनुभवी प्रचारक

उनको स्पष्ट बोल्ने शैलीको अर्को पक्ष पनि छ । रोबट शैलीमा निकै योजनाबद्ध रूपमा तौलिएर बोल्ने राजनीतिज्ञहरूको भिडमा उनी एक वास्तविक मानिसजस्तो देखिन्छन् । बाल्यकालमा भकभकाउने समस्या स्मरणमा रहेकाले आफूले पढेर बोल्नुका साटो मनका कुरा बोल्न रुचाउने उनले बताएका छन् । बाइडनले अमेरिकी सिनेटका चुनाव सात पटक जितेका छन् । खासगरी कामदार तथा मजदुर वर्गलाई बाइडनले आफ्नो स्वतःस्फूर्त भाषणमार्फत् तरङ्गित पारिदिन सक्छन् । भाषणपछि श्रोतासँग उनी हात मिलाउँछन् र फोटो खिचाउँछन् कुनै रकस्टारले जस्तै । ‘उनी मानिसहरूसँग अङ्कमाल गर्छन्, बोल्छन्, छुन्छन् र त्यो सबै वास्तविक हुन्छ। कृत्रिम हुँदैन,’ पूर्वविदेशमन्त्री तथा राष्ट्रपतिका पूर्वउम्मेदवार जन केरीले द न्यूयोर्कर पत्रिकालाई बताए । तर उनको स्पर्श गर्ने बानीलाई लिएर कतिपय प्रश्न उठेका छन्।

आरोपहरू

गत वर्ष बाइडनले आफूहरूलाई अनुचित रूपमा स्पर्श गरेको, अँगालो हालेको वा चुम्बन गरेको भन्दै आठ महिलाले आरोप लगाएका थिए । अमेरिकी सञ्चारमाध्यमहरूले बाइडनले कसरी सार्वजनिक कार्यक्रममा उपस्थित महिलाहरूसँग निकट भावमा व्यवहार गर्छन् र कसरी उनीहरूको केश सुँघेको जस्तो गर्छन् भनेर पनि चित्रण गरे । प्रतिक्रियामा बाइडनले आगामी दिनमा आफ्नो व्यवहारलाई लिएर होस पुर्याउने बताए । तर मार्च महिनामा तारा रिड नामक महिलाले ३० वर्षअघि आफूलाई बाइडनले यौन आक्रमण गरेको आरोप लगाइन् । त्यतिखेर उनी बाइडनको कार्यालयमा सहयोगी कर्मचारी थिइन् । बाइडनले आरोप अस्वीकार गरे र उनको प्रचार कार्यालयले त्यस्तो हुँदै नभएको विज्ञप्ति जारी गर्यो।

उही गल्ती नदोहोर्याउने प्रयत्न

सामान्य मानिससँग निकटता देखाउने उनको आत्मीय शैलीका कारण बाइडनले राम्रो गर्ने उनका समर्थकको आशा छ । वाशिङ्टनमा उनको धेरै अनुभव छ । सिनेटमा तीन दशकभन्दा धेरै अनि ओबामाको उपराष्ट्रपतिको रूपमा आठ वर्ष । करिब ५० वर्षदेखि उनी उच्चस्तरको राजनीतिमा संलग्न भइआएका छन् ।

लामो इतिहास

अमेरिकाका हरेक महत्वपूर्ण घटनाक्रममा बाइडन या त संलग्न छन् या त त्यसबारे केही टिप्पणी गरेका छन् । सन् १९७० मा सार्वजनिक विद्यालयहरूमा जातीय एकता कायम गराउन बालबालिकालाई अन्य इलाकामा बसबाट पुर्याउन भनी गरिएको निर्णयको विरोध गरिरहेका दक्षिणी क्षेत्रका समूहको समर्थनमा बाइडन उभिएका थिए । यो विषयलाई पटकपटक उनको विरुद्धमा प्रयोग गरिएको छ । ओबामाको कार्यकालमा रक्षामन्त्री रहेका रोबर्ट गेट्सले विदेशनीति तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित लगभग प्रत्येक महत्वपूर्ण निर्णयमा बाइडन गलत ठहरिएको तर पनि उनलाई नरुचाउन भने नसकिने बताएका थिए ।

पारिवारिक वेदना

बाइडन अन्य राजनीतिज्ञभन्दा सर्वसाधारण जनतानिकट देखिनुमा एउटा कारण भनेको अरूले जस्तै उनले बेहोरेका पारिवारिक शोक हुनसक्छ । सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दै गर्दा भएको कार दुर्घटनामा उनको पत्नी नेलिया र छोरी नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए । बाइडनका छोरा बोले डेलावेर राज्यका महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए र साथै सैनिक अधिकारीको रूपमा इराकमा खटिएका थिए । सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कमा ट्यूमरका कारण उनका छोरा बो बाइडनको निधन भयो । आफ्नो परिवारका त्यति धेरै सदस्य गुमाएका बाइडनप्रति सर्वसाधारण अमेरिकीमा सहानुभूति छ । तर उनका अर्का छोरा हन्टरसँग भने अर्कै कथा जोडिन्छ।

शक्ति, भ्रष्टाचार तथा झुट ?

हन्टर बाइडनले पिताको राजनीतिमा जटिलता उत्पन्न गरिदिएका छन् । हन्टर पहिले वकिल थिए। पछि उनको व्यक्तिगत जीवन समस्याग्रस्त भयो । उनको पहिलो पत्नीले उनले लागुऔषध तथा मदिरा प्रयोग गर्ने गरेको अनि मोजमस्तीमा लागेको विषयलाई सम्बन्धविच्छेदको कारणको रूपमा प्रस्तुत गरेकी थिइन् । कोकिन प्रयोग गरेको पाइएका कारण उनी अमेरीकी जलसेनाबाट निष्काशनमा परेका थिए । उनले द न्यूयोर्कर पत्रिकासँगको कुराकानीमा आफूलाई ऊर्जा क्षेत्रसँग सम्बन्धित एक ठूला चिनियाँ व्यापारीले हीरा दिएको स्वीकारेका थिए । ती व्यापारीलाई पछि बेइजिङले भ्रष्टाचारमा छानबिन गरेको थियो । गत वर्ष हन्टरले भेटेको एक सातापश्चात् नै दोस्रो पत्नीसँग बिहे गरेका थिए । उनको व्यक्तिगत जीवन र आम्दानीको विषयले बाइडनपनि विवादमा तानिएका छन् । उनले गरेको आम्दानीको एउटा क्षेत्रचाहिँ यूक्रेन थियो । त्यसलाई लिएर राष्ट्रपति ट्रम्पले यूक्रेनका राष्ट्रपतिलाई हन्टरमाथि भ्रस्टाचारको अनुसन्धान गर्न दबाव दिएको भन्ने आरोप लाग्यो ।

विदेश मामिला

बाइडनसँग विश्वमञ्चको धेरै अनुभव छ । कूटनीतिक अनुभव उनको बलियो पक्ष भएकाले विदेश मामिलासम्बन्धी काण्ड बाइडनको निम्ति बढ्ता हानिकारक हुन्छ । उनी विगतमा सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्ष थिए। आफ्नो ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतालाई भेटेको उनले दाबी गर्ने गर्छन् । सन् १९९१ मा उनले पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा चाहिँ इराक अतिक्रमणको समर्थन गरेका थिए । पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गर्न थाले । अलि सतर्क रहन रुचाउने बाइडनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए। सो कारबाहीमा बिन लादेन मारिएका थिए । बाइडनका दृष्टिकोणहरू डेमोक्रेटिक पार्टीका कैयौँ युवा अभियानकर्मीहरूले भने रुचाउँदैनन् । उनीहरूले बर्नी स्यान्डर्स वा एलिजाबेथ वारेनका जस्ता कट्टर युद्धविरोधी अडानको समर्थन गर्छन् । तर कैयौँ अमेरिकीको रुचिविपरीत उनी अलि ज्यादा शान्तिकामी पनि लाग्न सक्छन् । उनको अधिकांश नीतिहरू मध्यमार्गी किसिमका छन् ।
बीबीसीबाट