अझ राजीनामा दिए देश डुब्छ रे, निर्लज्जता !
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले फ्रन्टलाइनका स्वास्थ्यकर्मी सुरक्षा नपाएर राजीनामा दिने अवस्था आउनु दुःखद भएको बताएका छन् । बुधबार सामाजिक संजाल फेसबुकमार्फत थापाले प्रधानमन्त्रीज्यू पार्टीभित्रको जोडघटाउमा व्यस्त हुने र स्वास्थ्यमन्त्री उपचारको शुल्क तोक्नमै मस्त हुँदा यस्तो अवस्था आएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू पार्टीभित्रको जोडघटाउमा व्यस्त, स्वास्थ्य मन्त्रीज्यू उपचारको शुल्क तोक्नमै मस्त। यस्तै असंवेदनशीलता र विवेकहिनताकै कारण फ्रन्टलाइनका स्वास्थ्यकर्मी सुरक्षा नपाएर राजीनामा दिने,उपचार पाउन सक्ने बिरामी उपचार नपाएर मर्नुपर्ने अनि अवस्था आएको छ । अझ राजीनामा दिए देश डुब्छ रे । निर्लज्जता !’
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कुनै हालतमा राजीनामा नदिने बताएका थिए । प्रधानमन्त्री ओलीले कुनैपनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् ।
उनले आफ्नो राजीनामाले देश बर्बादीतिर जाने भन्दै त्यसको कल्पनासमेत नगरेको बताए । उनले भने, ‘मेरो लागि होइन देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन ।’ कोरोना कहर सुरु भएको आठ महिना पुगिसक्दा पनि सरकारले लकडाउन बाहेक केही नगरेको भन्दै सरकारप्रति जनअक्रोश बढ्दै गएको छ ।
कुनैपनि परिस्थितिमा राजीनामा दिन्नः प्रधानमन्त्री