‘विदेशीको झोला बोकेर उनीहरूका विचार लाद्नेहरू देश र संस्कृतिका सच्चा मित्र हुनै सक्दैनन्’
डा. गोविन्दशरण उपाध्याय ।
म मुस्लिम, इसाई, यहुदी वा अन्य कुनैका विरोधी होइनौं । मेरो लक्ष नेपालका रैथाने ज्ञान, धर्म, संस्कृति, सभ्यताका परम्पराहरूलाई विश्वसम्म पुर्याउने र नेपालीहरूको आत्मगौरव ऊच्चतर बनाउने हो । नेपाली ज्ञान परम्परालाई विश्वले चिन्दा नेपाल र नेपालीको गौरव उच्च हुन्छ । विश्वमा नेपालको गौरव स्थापित गर्नका लागि नेपाल कै ज्ञान परम्पराको वैश्विकतहसम्म पहुँच हुनुपर्छ र त्यो काम गर्ने दायित्व मेरो हो भन्ने ज्ञान पनि हुनुपर्छ । जव म हिन्दू, जैनआदि नेपालका रैथाने परंपराहरूका पक्षमा लेख्छु, बोल्छु र प्रचारप्रसार गर्छु भने मैले आफ्नो बास्तविक कर्तव्य पालन गरिरहेको छु । म मेरो यो कर्तब्य पालनप्रति पूर्ण गौरव गर्छु ।
फेरि पनि म भन्छु, नेपाल मेरो र मेरा पुर्खाहरूको मूलथलो हो । यो देश ऋषिमुनिहरू निर्माण गरेको र तिनकै परम्पराअन्तरगत फलेको, फुलेको र विकसित भएको हो । यदि हामी कसैप्रति आजीवन ऋणी छौँ भने त्यो नेपालको ज्ञान परम्परा नै हो । मलाई विदेशी धर्म, संस्कृति, परम्परा र सिद्धान्तहरूको भरी बोकेर नेपालका गाउँगाउँ डुल्नेहरूप्रति घृणा लाग्छ र झोला बोकेर हिड्नेहरूप्रति दया र दुख्ख लाग्छ । आफ्नो गौरवपूर्ण ज्ञानपरम्परा र संस्कृति हुँदाहुँदै विदेशीहरूको झोला बोकेर उनीहरूका विचारहरू लाद्नेहरू देश र संस्कृतिका सच्चा मित्र हुनै सक्दैनन् ।
आफ्नो ज्ञान परंपरालाई तुच्छ देख्ने, विकृत मात्रै देख्ने र विदेशीहरूको हरेक क्रियाकलापमा महानता देख्ने दृष्टिकोण मानसिक रोग हो । विदेशीका सबै थोक स्वीकार्य नभएझैं नेपालका सबै थोक विश्वका लागि अनुसरणयोग्य हुन्छन् भन्ने म दावी गर्दिन तर संस्कृति र बुझाईको तहमा नेपालीहरूले उनीहरूको नक्कल गर्नु पर्ने कुनै ठाउँ नै छैन । असल कुरा लिनुपर्छ, असल कुरा दिनुपर्छ तर उनीहरूका सबैथोक “विकासका मानक“ ठानेर स्वीकार गर्दा नेपालीले दुख पाएका छौँ । यो तत्थ्य जतिसक्दो चांडो बुझेको राम्रो ।