काठमाडौं । कोरोनाका कारण झण्डै ६ महिना बन्द रहेको लामो दूरीका सार्वजनिक यातायात खुला भएपनि यात्रुको संख्या भने न्युन देखिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण चैत १० देखि बन्द रहेको लामो दूरीका सार्वजनिक यातायात सरकारले असोज १ देखि खुला गर्ने निर्णय गरेपनि यात्रुको संख्या भने न्युन देखिएको हो ।
मुलुकको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कबाट थोरै मात्रामा सवारी साधन बाहिरिने गरेका छन् । कोभिड–१९ को सङ्क्रमण हुनुभन्दा पहिले प्रत्येक दिन ६ देखि ७ सयको हाराहारीमा सार्वजनिक यातायात उपत्यका बाहिरीने गरेका थिए ।
तर, अहिले प्रत्येक दिन बढीमा अढाई सय सार्वजनिक यातायात बाहिरिने गरेका छन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका व्यवस्थापक पंकज मल्लले पहिलेको तुलनामा नयाँ बसपार्कमा यात्रुको चाप कम हुँदै गएको बताए ।
त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले आन्तरिक उडानमा क्षमता बराबर यात्रु बोक्न पाउने र सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा बढी लिएर यात्रु बोक्न पाउने गरी सरकारले गरेको विभेदकारी निर्णयका कारण सार्वजनिक यातायातमा यात्रु घटेको बताए ।


प्रतिक्रिया