‘मस्त निद्रामा भएको सरकारलाई जनता र डा.केसीको स्वास्थ्यको के चिन्ता ?’


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेका छन् । २० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपनि सरकारले वेवास्ता गरेको भन्दै थापाले आपत्ति जनाएका छन् ।

उनले लेखेका छन्, ‘२० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । सरकार मस्त निद्रामा छ । सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा.केसीको जीवनरक्षाको चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने । त्यसैले नागरिक तहबाट जहाँ छौं त्यहीँबाट भनौं डा.केसीको जीवन रक्षा गर ! सहमतिको पालना गर !’

यसअघिका सहमति कार्यान्वयन नगरेको भन्दै डा. केसी २० दिनदेखि १९ औं अनसनमा छन् । जुम्लाबाट अनसन सुरु गरेका केसीलाई अहिले त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरिएको छ ।

डा. केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउन पूर्वराष्ट्रपति डा. रामबरण यादव शुक्रबार शिक्षण अस्पताल पुगेका थिए भने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि बिहीबार अस्पताल पुगेका थिए । सरकारले भने केसीको आन्दोलन असुहाउँदै भन्दै वेवास्ता गरेको छ । त्यस्तै केसीको समर्थनमा देशभर दिनहुँजसो प्रदर्शन भइरहेका छन् ।