लागुऔषध सम्बन्धी अनुसन्धानमा किन तानिए बलिउडका चर्चित नायिकाहरू ?



बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणसँग भारतको नार्कोटिक्स बोर्डले सोधपुछ गरेको छ । गत जुन महिनामा मृत्यु भएका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान भइरहँदा त्यसैसँग सम्बन्धित भएर पादुकोणमाथि शनिवार बोर्डले सोधपुछ गरेको हो । उक्त मुद्दामा बोर्डले दीपिका र अन्य तीन अभिनेत्रीसहित जम्मा ६ जनालाई बयानका लागि बोलाइसकेको छ ।

यसै महिनाको सुरुमा राजपूतकी केटीसाथीरप्रेमिका रिया चक्रवर्तीलाई पक्राउ गरिएको थियो । उनीमाथि राजपूतका लागि लागुऔषध खरिद गरिदिने गरेको आरोप छ जुन उनले अस्वीकार गर्दै आएकी छन् । राजपूतको मृत्यु बारेका समाचार भारतीय सञ्चारमाध्यममा व्यापक रुपमा आएका छन् र घटनाबारे थुप्रै खालका अनुमानहरू गरिएका छन् ।

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आफ्नो अनुसन्धान बृहत् बनाएको छ र उसले शनिवार पादुकोणसँग मुम्बइमा ६ घण्टा सोधपुछ गरेको थियो । नायिका सारा अलि खानलाई पनि नार्कोटिक्स बोर्डले सोधपुछ गरेको थियो । यसैबीच, अन्य दुई अभिनेत्री सारा अलि खान र श्रद्धा कपुरलाई पनि एनसीबीकै अर्को कार्यालयमा छुट्टै सोधपुछ गरिएको थियो ।

अर्की अभिनेत्री रकुल प्रीत सिंहसँग शुक्रवार यसैगरी सोधपुछ गरिएको थियो । तर अधिकारीहरूले उनीहरूमाथि कुनै आरोप भने लगाएका छैनन् । गत जुन १४ तारिखमा ३४ वर्षीय राजपूत मुम्बइस्थित उनकै निवासमा मृत फेला परेका थिए र त्यतिबेला प्रहरीले उनले आत्महत्या गरेको बताएको थियो ।

तर पछि उनका परिवारले प्रेमिका चक्रवर्तीविरुद्ध आत्महत्या गर्न उक्साएको लगायत अन्य अपराध गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको थियो । यी सबै आरोपलाई चक्रवर्तीले अस्वीकार गर्दै आएकी छन् । अहिले यो मामिलालाई तीनवटा सङ्घीय निकायहरूले अनुसन्धान गरिरहेका छन् ।

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अहिले दुईवटा छानबिन गरिरहेको छ । पहिलो रिया चक्रवर्ती, उनका भाइ र राजपूतका पूर्व व्यवस्थापकमाथिको अनुसन्धान पहिलो हो । तीनैजनालाई पक्राउ गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अर्को अनुसन्धान भनेको बलिउडमा लागुऔषधको व्यापक प्रयोग हुन्छ भन्ने दाबी बारे हो ।

अधिकारीहरूले उक्त अनुसन्धानबारे थोरै विवरणहरू सार्वजनिक गरेका छन् जसका कारण सञ्चारमाध्यममा व्यापक अनुमानहरू गरिएका छन् । अनुसन्धानको एउटा हिस्साको रुपमा एनसीबीका अधिकारीहरूले चक्रवर्तीको ह्वाट्सएप मेसेजहरूको अध्ययन गरिरहेका छन् जसमा उनले नार्कोटिक्सबारे छलफल गरेको आरोप छ । यो अहिलेसम्म स्पष्ट छैन ।

नार्कोटिक्सका अधिकारीहरूका अनुसार ह्वाट्सएप मेसेजमा दीपिका र उनकी व्यवस्थापक पनि सहभागी छन् । सुशान्त सिंह राजपूतले २०१९ देखि चर्कवर्तीसँग डेटिङ गरिरहेका थिए । त्यसैकारण उनीहरूलाई सोधपुछका लागि बोलाइएको हो। तर ती मेसेजहरूमा के छ भन्ने अझै खुलेको छैन ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले किन यो मामिलामा अभिनेत्रीहरूलाई मात्रै एनसीबीमा बोलाइएको र किन अभिनेतालाई नबोलाइएको भनेर प्रश्नहरू उठाएका छन् ।

टेलिभिजन च्यानलहरूको समाचार दिने आक्रामक तरिकालाई लिएर धेरैले आलोचना गरेका छन् । राजपूतको मृत्युयता सञ्चारमाध्यमले उनका थेरापिष्ट, साथीहरू, परिवार, सहकर्मीदेखि उनका पूर्व भान्सेको समेत अन्तर्वार्ता लिइसकेका छन् । र, आधिकारिक जानकारी कम मात्रै सार्वजनिक भएका कारण समाचार च्यानलहरूले जति पनि सूचना चुहिन्छ त्यसको विभिन्न कोणबाट विश्लेषण गर्न समय खर्चिएका छन् ।

यसरी एउटा विषयमा धेरै समय खर्चिँदा अन्य सान्दर्भिक र गम्भीर मुद्दाहरूबाट आममानिसको ध्यान अन्यत्र मोडेको भन्दै थुप्रै मानिसहरूले आवाज उठाइरहेका छन् । विश्वमै कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या भारतमा दोस्रो नम्बरमा छ । अहिले त्यहाँको अर्थतन्त्रलाई नराम्ररी असर गरेको छ भने छिमेकी देश चीनसँगको सम्बन्ध पनि नराम्ररी बिग्रिएको छ ।
बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा