काठमाडौं । कोरोना संक्रमण जितेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीले बेसार पानी र गुर्जो खाएर कोरोनामुक्त भएको बताएका छन् । शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका कर्मचारी शिवहरी आचार्यले बेसार पानी, गुर्जो, अदुवा लगायतका घरेलु औषधिबाट कोरोना संक्रमणबाट निको भएको बताएका हुन् ।
उनले आफू मन्त्रालयको काममा विभिन्न कार्यालयहरुमा हिँडडुल गर्दा आफूमा कोरोना संक्रमण भएको पनि उल्लेख गरे । आचार्यले कोरोना पुष्टि भएपछि परिवारसँग छुट्टै रहेर होमआइसोलेसनमा बसेको बताए । कोरोना पुष्टि भएको १६ औं दिनमा आफ्नो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि २१ दिनसम्म बसेको र कोरोना जितेर आफू कार्यालयको नियमित कार्यमा फर्किएको उनले अनुभव सुनाए ।
यस्तै कोरोना जितेका स्वास्थ्य सेवा विभागमा कार्यरत सवारी चालक उत्तर कुमार काफ्लेले आफूमा लक्षण नभएकाले सजिलै कोरोना जितेको बताए ।
कोरोना लागेका व्यक्तिलाई समाजबाट हेयको भावले हेर्ने गरेको र उनीहरु र उनीहरुका परिवारप्रति नराम्रो घटना हुने गरेको भन्दै यस्ता घटनाले बिरामीलाई थप मानसिक तनाब हुने उनले बताए । काफ्लेले संक्रमण नदेखिएकाहरुमा भोलि संक्रमण हुनसक्ने भएकाले कोरोनाबाट बच्न सबै सचेत हुनुपर्ने पनि बताए ।

प्रतिक्रिया