‘न्यायको मर्म कायम राख्न नसक्ने न्यायाधीश असक्षमताको आधारमा बहिरगमन हुनुपर्छ’
डा. युवराज संग्रौला ।
यी मेरा न्यायपालिका सुदृढीकरण अभियानमार्फत, नेपाल बारसँग माग हुन् । बारले अहिले एक्सन प्लान बनाइरहेको छ । बारका अध्यक्षको न्यायप्रतिको प्रतिबद्धतामा म विश्वास राख्छु । उहाँले मेरा भनाइलाई स्थान दिनुहुनेछ । यो देशको बारले कानुनी शिक्षामा कहिलेपनि सरोकार राखेन । त्यस्ता मञ्चमा कानुनका प्राध्यापकलाई कहिले पनि आमन्त्रण गरिँदैन । बोलाइहाले प्रोटोकलमा “प्राध्यापक“ लाई बारको निवर्तमान कनिष्ठ सदस्य भन्दा तल राखिन्छ । यसमा गुनासो गर्नुपनि छैन । कन्फुसियसले भनेका छन्, “इतिहास मानिसले आफना कर्मले बनाउँछ कसैका काँधाले होइन“। मेरा माग निम्न छन्, जो बारको प्लान अफ एक्सनमा परुन् ।
१. न्यायापालिकामा भ्रष्टाचार समाप्त हुनुपर्छ, बिसंगती समाप्त हुनुपर्छ र न्यायको मर्म कायम राख्न नसक्ने न्यायाधीश असक्षमताको आधारमा बहिरगमन हुनुपर्छ । न्यायाधीशका फैसला उल्टिएको रेकर्ड पुनः कायम हुनुपर्छ र फैसलाको मुल्यांकनसमेत गरि को सक्षम छैन भनी पत्ता लगाउन न्यायिक जाँचबुझ आयोग न्याय परिषदले गठन गर्नुपर्छ ।
२. न्यायापालिकामा रहेको केही कानुन व्यावसायीको सिन्डिकेट भत्किनुपर्छ र बारलाई राजनीतिक दलको भातृ संगठन बनाउने अहिलेको प्रवृत्ति समाप्त हुनुपर्छ ।
३. बारको विधान संशोधन गरि बारमा युवा कानुन व्यावसायीको छुट्टै शाखा रहने व्यवस्था गरिनुपर्छ । यो युग नयाँ पुस्ताको हो । व्यवसायमा बिशिष्टिकरण हुनुपर्छ र कन्टिनियुइङ्ग लिगल एजुकेसन शुरु गर्नुपर्छ ।
४. कानुन शिक्षालाई बार काउन्सिलसँग जोडि कलेजहरुको बहुपक्षीय मुल्यांकन हुनुपर्छ, गुणस्तरका बारेमा ।
५. अदालतमा वकिलको बहस समय मुद्दालाई तोकिनु पर्छ र पहिला बहसनोट पेस नगरि बहस गर्न दिइनु हुन्न । बहस नोट पक्ष विपक्षलाई उपलब्ध गराइ, फैसला गर्दा न्यायाधीशले बहस नोटमा उल्लेखित तर्क किन अस्वीकार भयो वा स्वीकार भयो भन्ने विश्लेषणात्मक तर्काधार वा रिजनिङ्ग दिनु पर्छ ।
६. अदालत शुद्ध सफा मन र सक्षम दिमागले हुन्छ, पेशीको ढाँचाले होइन ।
अहिले चलेको अभियान यिनै कुराको खोजी हो । यो बारको अभियान हो । बारका सदस्यले गरेको अभियान दुत्कार्ने कार्य नगर्नुहोस् । अर्याल होटलमा पिजा, कयापुचिनो, अमेरिकानो, एक्सप्रेसो खाएको प्रमाणित गर्नुहोस्, अरु के गर्छन् थाहा छैन म उहाँको जुत्तामा पालिस लगाएर बस्ने नोकर हुन तयार छु । यी मेरा सरोकार प्लान अफ एक्सनमा छलफल हुन । अहिले शुरु भएको अभियानलाई बाँचुन्जेल उठाउने छु । मलाई बार, सरकार, न्यायापालिका वा अन्य कुनै पद चाहिएको छैन । शिक्षक हुँ सो हुनुमा गौरव गर्छु । अर्को जन्म हुँदोरहेछ भने फेरि पनि शिक्षक नै हुन मन छ ।