आफ्नो जन्मदिनमा पर्यटनमन्त्री भट्टराईद्वारा एसिड पीडित मुस्कान खातुनलाई एक महिनाको तलब सहयोग


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडत बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । भट्राईले खातुनलाई एक महिनाको पारिश्रमिक दिएका हुन् । नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले सहयोग प्रदान गरेका हुन् । पीडित बालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिन अघि बालुवाटारमा बोलाएर उनको शिक्षाको सबै प्रबन्ध गरिने बचन दिएका थिए ।

जन्मदिनमा भोजभतेरमा गरिने खर्चले कुनै अर्थ नराख्ने भएकाले उक्त रकमलाई मन्त्री भट्टराइले सामाजिक र परोपकारी काममा प्रयोग गर्दै आएका छन् । ०७२ सालदेखि मन्त्री भट्टराईले नियमितरुपमा आफ्नो जन्मदिनमा असहाय, पीडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आएका छन् । गत भदौ २० गते घरवाट विद्यालय जादै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए ।

सामाजिक सञ्जाल फेसबुममा भट्टराईले यस्तो लेखेका छन् ।

यो सालको जन्मदिन मुस्कानको साथ
गत माघ महिनामा होटल हायातमा आयोजना भएको एक भब्य कार्यक्रममा मुस्कान खातुनसँग भेट हुन पुग्यो । केही समय पहिले उहाँमाथि एसिड प्रहार भएको थियो । त्यो समाचार विभिन्न संचार माध्यमबाट सार्वजनिक भएपछि मैले थाहा पाएको थिएँ । हायातको कार्यक्रममा बहिनी मुस्कानको बुलन्द भाषणमा सहभागीहरुले तालीको गडगडाहावटले मुस्कानलाई उत्साहित बनायो ।

जब मञ्चमा मैले मुस्कानलाई सम्मान गर्ने मौका पाए उहाँको उच्च शिक्षाका लागि आफ्नो तर्फबाट केही सहयोग गर्ने बचन दिएको थिएँ । आज मेरो जन्मदिन तिनै मुस्कान र उनी जस्तै असह्य पीडामा रहेका मुस्कानहरुमा समर्पित गर्न चाहन्छु् । बहिनीको शिक्षाका लागि मैले प्राप्त गर्ने एक महिनाको पारिश्रमीकमा कर र लेबी कटाएर सहयोग गरेको छु । केही दिन अघि मात्र प्रधानमन्त्रीज्यूले मुस्कानलाई बालुवाटरमा बोलाएर उहाँको शिक्षाको ब्यवस्था मिलाउने बचन दिनु भएको छ । मुस्कानलाई डाक्टर बन्ने इच्छा छ बहिनी मुस्कान तपाईको डाक्टर बन्ने आकांक्षा पुरा हुनेछ ।
हार्दिक शुभकामना