काठमाडौं उपत्यकाका ६२ सहित थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६,३५९ जनाको नमुना परीक्षण गरिएको छ । योसँगै पीसीआर विधिबाट अहिलेसम्म ४,१२,९५३ जनाको नमुना परीक्षण गरिएको छ । बुधबार काठमाडौंका ५७ जना, ललितपुरका ५ जनामा संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा ९,९२५ जना छन् । आइसोलेसनमा ६,१७४ जना संक्रमित छन् । बुधबार थप १३० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १५,१५६ पुगेको छ ।
यसैबीच पर्साको पोखरीयाकी १८ वर्षकी युवतीको साउन १९ गते निधन भएकोमा उनमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै पर्साको वीरगंजका ४६ वर्षीय पुरुषको आज निधन भएको र उनी कोरोना संक्रमित भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।