लेबननको राजधानीमा बेरुतमा भएको विस्फोटमा कम्तीमा ७० जनाको मृत्यु, चार हजार भन्दा बढी घाइते


लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटमा कम्तीमा ७० जनाले ज्यान गुमाएका र चार हजार भन्दा बढी घाइते भएका त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन् ।

अनलाइनमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ । अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन् । राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु अस्वीकार्य रहेको बताएका छन् । अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रसायन हो । राष्ट्रपति आउनले सुप्रीम डिफेन्स काउन्सिलको बैठकपछि त्यस्तो ट्वीट गरेका हुन्।

विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको छ । विष्फोटका घाइतेले अस्पतालहरू भरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएका छन् । प्रधानमन्त्री हासान डीयाबले उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन् । उनले खतरनाक गोदाम बारे चर्चा गरेका छन् जुन सन् २०१४ देखि त्यहाँ रहेको बताइएको छ । स्थानीय सञ्चार माध्यमहरूले मानिसहरू भग्नावशेषमा च्यापिएको देखाइरहेका छन् ।

विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो । सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो । राष्ट्रसङ्घीय न्यायाधीकरणले हरिरिको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो ।

Developing: A large explosion was heard and thick smoke was seen rising from the Lebanese capital Beirut on Tuesday

Posted by CGTN on Tuesday, August 4, 2020

ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए। सो समूहले उक्त हत्यामा आफू जिम्मेवार नभएको बताउँदै आएको छ । फैसला शुक्रवार हुँदै थियो । घटनाबारे ब्रिटेन र फ्रान्स सहित विभिन्न देशहरूले प्रतिक्रिया जनाएका छन्। उनीहरूले लेबननलाई आवश्यक सहयोग गर्ने बताएका छन् ।

त्यसअघि लेबननका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका थिए । सन् १९७५ देखि ११९० सम्म चलेको गृहयुद्धपछिको सबैभन्दा खराब आर्थिक सङ्कट व्यवस्थापनमा सरकारी भूमिका विरुद्ध त्यहाँ प्रदर्शन भइरहेको थियो ।

त्यसबाहेक लेबनन र इजरेलबीच पनि तनाव देखिएको छ । गत हप्ता इजरेलको सेनाले लेबननसँगको सीमामा हेज्बोल्लाहले गरेको आक्रमण विफल पारिदिएको जनाएको थियो । इजरेल प्रवेश गर्न खोजेको लडाकुहरूको समूहमाथि आफूहरूले पहिले आक्रमण गरेको उसले बताएको थियो ।