काठमाडौंका ४८ सहित थप २५९ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंका ४८ जना, भक्तपुरका १३ जना र ललितपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २१,००९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७,६८७ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १०,४५२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ५,९२५ जना रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै मंगलबार थप ६५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १५,०२६ पुगेको छ ।
यसैबीच मन्त्रालयले काठमाडौं प्रवेश गर्ने नाकाबाट केही दिनअघि १०,८५३ जनाको स्वाब संकलन गरेकोमा जम्मा ४० जनामा मात्र संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।