विश्व स्वास्थ्य संगठनले भन्यो-कोरोना भाइरसविरुद्धको खोप कहिल्यै पत्ता नलाग्ने सम्भावना पनि छ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहेपनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्ने सम्भावना रहेको बताएका छन् । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले यसको कुनै औषधि पत्ता नलाग्न सक्ने पनि बताएका हुन् । उनले सबैलाई सामाजिक दूरी, हातको सफाइ तथा मास्क प्रयोग गर्नेलगायतका उपायहरु अपनाउन अपील गरेका छन् ।
उनले भने, ‘केही खोपहरु अहिले तेस्रो चरणको मानवीय परीक्षणको चरणमा छन् र आशा छ कि संक्रमणबाट जोगाउने खोप प्राप्त हुनेछ ।’ टेडरोजले कोरोना भाइरसको संक्रमण भएका आमाहरुलाई सन्तानलाई दूध चुसाउन नछोड्न पनि आग्रह गरेका छन् । दूधबाट संक्रमण नफैलिने भएकाले स्तनपान जारी राखिनु पर्ने उनको भनाई थियो ।
यस्तै कोरोना भाइरसको उत्पत्ति वा संक्रमणको सुरुवात कहाँबाट भएको हो भन्नेबारे चीनमा डब्लुएचओको अगुवाइमा भएको अनुसन्धानको पहिलो चरण सकिएको पनि उनले जानकारी दिएका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ९७ हजार नाघेको छ । त्यस्तै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ८४ लाख ४२ हजार ३ सय ८२ पुगेको छ । संक्रमितमध्ये १ करोड १६ लाख ७२ हजार ६ सय भन्दाबढी उपचारपछि निको भएर घर फर्किएका छन् ।