प्रचण्डलाई अध्यक्षबाट राजीनामा दिन नेकपाकै नेताको सुझाव
काठमाडौं । सत्तारुढ नेकपाका नेताले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिएका छन् । सोमबार बीबीसी नेपालीसँग कुरा गर्दै नेता हरिबोल गजुरेलले प्रचण्डलाई अध्यक्षबाट राजीनामा दिन आफूले सुझाव दिएका हुन् ।
आफूले प्रधानमन्त्री केपी ओलीसँग भेट्दा प्रधानमन्त्रीले सहमतिमा महाधिवेशन गर्ने कुरा भइसकेपछि एउटा अध्यक्षलाई जबरजस्ती हटाएर हुँदैन बरू प्रधानमन्त्री आफैँले अध्यक्षबाट राजीनामा दिएमा हुनसक्छ भनेको कुरा प्रचण्डलाई सुनाएको र परिआएको खण्डमा त्यो विकल्प प्रचण्डले पनि प्रयोग गर्न सक्ने सुझाव दिएको गजुरेलले बताएका छन् ।
उनले भने, ‘मैले एक्लै भेट्दा अध्यक्ष प्रचण्डलाई पार्टी एकता बचाउन र गतिरोध तोड्न अन्तिम अस्त्रको रूपमा राजीनामा दिनुपर्ने सुझाव दिएको थिएँ । पछि पूर्वमाओवादीतर्फका स्थायी कमिटी सदस्यहरूको भेलामा पनि वहाँले केही उपाय लागेन भने हरिबोलजीले दिएको सुझाव प्रयोग गर्छु भन्नुभाथ्यो।’ नेता गजुरेलका अनुसार उनको सुझाव कार्यान्वयन गर्ने उचित अवसर गत साता आइपरेको थियो जब प्रधानमन्त्रीले एकलौटी रूपमा स्थायी कमिटी बैठक स्थगित गरिदिएका थिए ।
‘बैठक एकतर्फी रोक्दा मलाई पार्टीको कार्यकारी अध्यक्ष भन्ने तर अधिकार प्रयोग गर्न नपाउने अवस्था बनाउने भनेर प्रचण्डले राजीनामाको अस्त्र प्रयोग गर्न सक्नुहुन्थ्यो।’ ‘आलोपालो त्यागेर कार्यकारी अध्यक्ष स्वीकारेको तर त्यो भूमिका पनि नदिँदा दुवै पद तपाइँनै चलाउनोस् भनेर प्रचण्डले त्यसो गरेको भए प्रधानमन्त्री केपी ओलीले गम्भीर रूपमा सोच्न बाध्य हुनुपथ्र्यो ।’ गजुरेलले भने ।
आफ्नो सल्लाह मानेको भए एउटा निकास निस्कने तथा अहिले प्रचण्डमाथि पदलोलुपता देखाएको भनेर लागेका आरोप पनि खारेज हुने उनको भनाइ छ । त्यसबाट सहमतिको वातावरण समेत बन्ने थिया तर कसको दबाब परेर हो त्यस्तो हुन सकेन भन्ने कुरा आफूलाई थाहा नभएको बताए । स्थायी कमिटीको बैठकमा प्रचण्डले प्रधानमन्त्रीलाई दुवै पद छाड्न नभनेर बरू अहिले दुईजना अध्यक्षको प्रणालीले काम गर्न नसकेका कारण एउटा पद रोज्न भनेको भए पार्टी विवाद अर्कै स्थितिमा रहने थियो र निकास निस्किसक्ने थियो भन्ने उनको बुझाइ छ ।
आफूले राजीनामा दिन गरेको सुझाव पालना भएको भएपनि स्थितिले कोल्टे फेर्न सक्ने गजुरेलले बताए । परिस्थितिअनुसार कुनै बेला पछि हटेर पनि पहल आफ्नो हातमा आउने भन्दै नेता गजुरेलले विगतमा माओवादीले एकतर्फी युद्धविराम गरेर पनि पछि पहल प्राप्त गरेको उदाहरण सुनाए ।