थप २१० जनामा कोरोना संक्रमण, १४६ जना डिस्चार्ज
काठमाडौं । बुधबार काठमाडौंमा १५ सहित नेपालमा थप २ सय १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार २ सय ७३ जना पुगेको छ । यस्तै बुधबार १ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १४ हजार २१ उपचारपछि निको भएका छन् । हाल ५ हजार २ सय ३ जना संक्रमितको उपचार भइरहेको छ।
काठमाडौंमा भेटिएका संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुमा काठमाडौंका दुई जना र भक्तपुरका एक जना संक्रमित भेटिएका हुन् । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका सात जनामा संक्रमण पुष्टि भएको छ ।
वीर अस्पतालमा काठमाडौंका दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौंको एकजना र स्टार अस्पतालमा काठमाडौंका दुई जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनले कोरोना भाइरसको परीक्षण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री एक महिनालाई पुग्ने गरी मौज्दात रहेको बताए । उनका अनुसार थप आवश्यक स्वास्थ्य सामग्री ल्याउने तयारीमा सरकार रहेको छ । त्यसैगरी कोरोनाको संक्रमितको उपचारका गरेवापत अस्पताललाई अनुदान दिने आदेश २०७७ स्वीकृत भएको समेत उनले जानकारी दिए ।