यसकारण हिजो ‘जनयुद्ध’ लडेका शक्ति एक हुनुपर्छ
विश्वदीप पाण्डे ।
केही दिनअघि मैले २०५२ सालपछिका प्रगतिशील शक्तिहरु एकैठाउँमा आउनुपर्छ भनेको थिएँ र धेरै साथीहरुले विभिन्न प्रतिक्रिया दिनुभएको छ । बुझेर वा नबुझेर समर्थन/विरोध गर्ने सबैलाई धन्यवाद । स्वस्थ बहसले हामी सबैलाई राम्रो नै गर्छ ।
यसअघि संक्षिप्तमा मैले आफ्ना कुराहरु राखेको थिएँ, त्यससम्बन्धमा केही साथीहरुमा अझै केही अस्पष्टता रहेको पाएँ । त्यसैले अलिक विस्तृतमा मेरा कुरा पुनः सम्प्रेषण गर्दैछुः
पार्टी एउटै छ, तर विजातीय तत्वहरु अटाएका छन् । अब यस्तो अवस्थाको अन्त्य हुनुपर्छ । मुलुकमा पुनः नयाँ ध्रुवीकरणको आवश्यकता छ । प्रगतिशील शक्तिहरु सुशासन, समृद्धि र समाजवादका लागि एउटै ध्रुवमा उभिन आवश्यक छ ।
गणतन्त्रको संरक्षक बनेर सामन्ती शैली अपनाएर गणतन्त्रकै घाँटी रेट्ने, संघीयता जिन्दावाद भन्दै संघीयतालाई नै टुहुरो बनाउने समावेशी/समानुपातिकको नारालाई कि जातीय भन्ने कि एनजिओको ट्याउँट्याउँ भन्ने, मधेसी र एकात्मक सत्ताले अनागरिक बनाएका सीमान्तकृतहरुलाई नागरिक नठान्ने शक्तिहरु एकातिर उभिएको राम्रो ।
२०५२ पछिका परिवर्तनकारी शक्तिहरु (जनयुद्ध/मधेस आन्दोलन/जनजाति आन्दोलनका सहभागीहरु र प्रगतिशील वैकल्पिक शक्ति निर्माणका अभियन्ताहरु) एकठाउँमा आउनुपर्छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक/समावेशिता जस्ता एजेन्डालाई मान्नेहरु एकठाउँमा र यी एजेन्डालाई मन नपराउने शक्तिहरु अर्को ठाउँमा हुनु आवश्यक छ । ध्रुवीकरणको क्रममा माओवादी/कम्युनिष्टको कलेबरमा लुकेका पश्चगामी र यथास्थितिवादीहरु अर्को ध्रुवमा उभिँदा राम्रो ।
म स्पष्ट के कुरामा छु भने हिजो जनयुद्ध लडेका सबै आज प्रगतिशील नरहन सक्छन् । तत्कालीन एमालेमा भएका सबै ‘बयलगाडा’ लाइनमा थिएनन् र छैनन् ।
कसैलाई मन नपर्न सक्छ, मन नपरोस् । तर, विभिन्न नामका विजातीय ध्रुवीकरणले देशलाई बन्धक मात्र बनाउँछ । अब अगाडि बढ्न चाहने र पछाडि हट्न चाहनेहरुबीच स्पष्ट ध्रुवीकरण हुनुपर्छ र निर्णायक संघर्ष हुनैपर्छ । व्यक्तिहरुको स्वार्थका लागि मुलुक बन्धक नबनाऔं । देश र समयको आवाज सुनौं !