आफ्नै पार्टीका नेताहरुलाई आरोप लगाउँदा भोलि चाहिँ आफैँलाई पोल्छ
विष्णु रिजाल ।
विवादका बेला पार्टीका नेताहरुका बारेमा कसैले पनि सार्वजनिक टिप्पणी नगर्नु उचित हुन्छ । यसै पनि ‘रिस उठेको बेला वेद पढिँदैन’ भन्ने भनाइ नै छ । आफ्नै पार्टीका नेताहरुलाई यो वा त्यो भनेर आरोप लगाउँदा एकछिनलाई लुतो कन्याए जस्तो आनन्द त आउला, भोलि चाहिँ आफैँलाई पोल्छ ।
सबैलाई सबै थाहै छ, पोल खोल्दै जाँदा अन्ततः सबै नांगै हुने हो । सन् १९७५ मा बनेको हिन्दी फिल्म ‘शोले’मा साथी वीरु (धर्मेन्द्र) का लागि मोसीसँग वसन्ती (हेमामालिनी) को विवाहका लागि माग्न पुग्दा जय (अमिताभ बच्चन) ले प्रशंसा गरे जस्तो गरी एकएक पोल खोल्छ । ‘कति कमाउँछ ?’ भन्दा ‘जुवा-तास हो, सधैँ त के भर हुन्छ र ?’ भन्छ । अनि ‘सराव भनेको त्यस्तै हो, विचरा पिएको बेला होस पाउँदैन’ पनि भन्छ ।
‘विहा गर्यो भने जुवा र रक्सी मात्र छाड्दैन, वीरुले गानाबजानावाली कहाँ जान पनि छाड्छ’ भन्छ । वाक्क भएकी मोसीले व्यंग्य गर्दै ‘यति लक्षिनको मान्छे कुन खानदानको हो ?’ भनेर सोध्दा भन्छ, ‘पत्ता लाग्यो भने त्यो पनि म भनूँला ।’
कामना गरौँ, कतै आफ्नै साथीहरुका बारेमा यसैगरी एकएक पोल खुल्दै नजाऊन् ।