तैपनि तिनै नेताका बडेमानको फोटो छातीमा टाँसेर जयगानमा व्यस्त छन्
नारायण गाउँले ।
सरकार बनाउने र चलाउने म्यान्डेट पूर्ण रूपमा नेकपासँग छ । जो बने पनि नेकपाकै बन्ने हो । हामी नेकपाबाहिरका व्यक्तिको चासो भनेको एउटा स्वस्थ, स्वच्छ, क्रियाशील, नम्र र सत्य-तथ्य समाएर बोल्ने व्यक्ति प्रधानमन्त्री भए हुन्थ्यो भन्नेसम्म हो ।
विश्वभर कोरोनाभाइरसको महामारी सुरु भएदेखि सरकार र प्रतिपक्ष एक ठाउँमा छन् । संसदमा होस् या सड़कमा दैनिक रूपमा सरकार प्रमुखले सरकारका गतिविधिबारे प्रेस-ब्रिफिंग गर्छन्, नागरिकका प्रश्नको सिधा उत्तर दिन्छन् । हरेक दिन छुट्टाछुट्टै मन्त्रीहरू आआफ्ना मन्त्रालयले चालेका कदम र नीतिबारे सूचना दिन त्यो प्रेस-ब्रिफिंगमा सहभागी हुन्छन् र सवालजवाफ गर्छन् । ती तथ्याङ्कमा बोल्छन्, सटीक उत्तर दिन्छन् र गर्न नसकिएको विषयमा खुलेर माफी माग्छन् ।
हाम्रोमा एउटा मन्त्रीसम्म एक घण्टा उभिएर प्रश्नोत्तर गर्न सक्दैनन् । सर्वसाधारण जस्तै उभिएर सरकारी सूचना दिँदा तिनको इज्जत घट्छ । एउटा कर्मचारीले लेखेर ल्याएको सूचना कनीकनी पढ्छ, सकियो । देश र जनताका मुद्दा एकातिर छन् । महामारी एकातिर छ । यस्तो महामारीमा पनि कमिशनको कुत्सित खेल एकातिर छ र सरकार ठ्याक्क अर्कोतिर छ । देशको अर्थतन्त्र थला पर्दै गर्दा र नागरिकहरू क्वारेन्टीनमैं सिटामल नपाएर मर्दै गर्दा सरकार भने महिनौंदेखि ‘म्युजिकल चेयर’को खेल खेल्दै छ । संसद पनि कुर्सीकै खेलका लागि एउटा भकुण्डो बनेको छ । राष्ट्रियताजस्तो संवेदनशील विषयलाई समेत कुर्सीको ढाल बनाइएको छ ।
यस्तो दुर्भाग्यपूर्ण स्थितिले सबैभन्दा बढ़ी दुख्नुपर्ने नेकपाका कार्यकर्ता र भोटरलाई नै हो । तिनले खबरदारी गरेर सुधार गर्नुपर्ने हो । तर तिनीहरू नै नेताका बड़ेमानको फोटो छातीमा टाँसेर जयगानमा व्यस्त छन् । दिक्क लाग्छ ।