थप ५९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११,७५५ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ११,७५५पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६,५३४ जनाको कोरोना परीक्षण गरिएको छ ।
योसहित २ लाख ६ हजार २७१ जनाको कोरोना पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यस्तै आरडिटीबाट २ लाख ९० हजार ३४९ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ७१ हजार १२ जना रहेका छन् भने रेडजोनमा ५१० जना रहेका मन्त्रालयले जनाएको छ ।
आइसोलेसनमा ९ हजार छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा ४८ जना डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।
यसैबीच, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल भर्ना गरेपनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ती महिलाको नाम ठेगाना नखुलेको बताए । अन्दाजी २५/३० वर्षिया महिलाको ११ गते नै स्वाव संकलन गरिएको थियो । राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आएको उनले बताए ।