‘आधुनिक शिक्षाले केवल असल मान्छेहरूको सिर्जना मात्र गरेको छ भन्ने ठान्नु भूल हो’
डा.गोविन्दशरण उपाध्याय ।
राजनीतिले सत्तामा पुर्याउँछ भने राज्यनीतिले सत्तालाई उपयोग गर्ने बाटो निर्माण गर्छ | राजनीतिको आधार व्यक्तिगत सुख प्राप्ति हो भन्ने महत्वाकाक्षा बोकेका व्यक्ति वा समूहले डाँकालेझैं राज्यलाई भोग-बलात्कार गर्छन् र राज्यनीति पनि आफ्नो अनुकुल बनाउँछन् |
विश्वभरीको इतिहासमा राजनीति सुखद छैन | राज्यहरूले सधैं लडाई खेलेका छन् | राष्ट्रहरूले एकआपसमा घृणा प्रसारित गरेर मानवहत्याका लागि उक्साएका छन् | अव एउटा नयाँ शैली उत्पन्न भएको छ – मान्छेको महत्वकान्क्षासंग प्रकृति पनि रुल्मुलिएको छ | मान्छेले निर्दोष प्रकृतिलाई समेत आफ्नो रणक्षेत्र र शत्रुका रूपमा प्रयोग गर्न थालेको छ |
आधुनिक समयमा राष्ट्रहरू बढी कल्याणकारी छन् र प्राचीन समयका तुलनामा मानवीय जीवन बढी सुरक्षित र स्वत्रन्त्र भएको छ | उपभोक्ता मुखी राज्यतन्त्रहरूले राज्यलाई भोग-विलासको साधन बनाउँन छोडेका छैनन् | अझैं राष्ट्रहरूका सीमाहरू पासपोर्टले नियमन गरीपछि राष्ट्रहरूको स्वभाव तेस सीमाभित्र रहेका जनताकोको सामूहिक स्वार्थको रक्षामा केन्द्रीत भएको छ | कल्याणकारी राष्ट्रको अर्थ केवल “राज्यका सीमा” भित्र समेटिएको छ | पहिले व्यक्ति विशेष लोभी, लालची तथा स्वार्थी थियो भने अहिलेको राज्यव्यबस्थाले यी सबैलाई “सामूहिक” बनाएको छ |
अझै उदेक लाग्दो तत्थ्य त के छ भने विश्वका अधिकतम मान्छेहरू शिक्षित हुँदैजाँदा व्यक्तिगत स्वार्थ अझै घनिभूत भएको छ र हरेक व्यक्ति नितान्त व्यक्तिगत स्वार्थमा केन्द्रीत भएको छ | स्वार्थी व्यक्तिहरूको समूहले एउटा भूगोलभित्र राष्ट्रको अस्तित्व स्थापित हुँदा राष्ट्र झन् स्वार्थी बनेका छन् | उदाहरणका लागि आजका धनिराष्ट्रहरू “ऋणदिने साहुकार”,मा रुपान्तरित भएका छन् | गरीव राष्ट्रहरू बँधुवा मजदुर र धनिराष्ट्रहरू “ऋण तिर्न नसक्ने ऋणीलाई मृत्युदण्ड दिने क्रुरतर साहुको गद्दीमा वसेका छन् |
आधुनिक शिक्षाले केवल असल मान्छेहरूको सिर्जना मात्र गरेको छ भन्ने ठान्नु भूल हो | जतिजति मान्छे सुशिक्षित र अनुभवि हुँदैछ तेतिनै धेरै साझा उपभोग्य वस्तुहरूप्रति उसको लोभ र एक्लो स्वामित्वको भावना बढ्दै गएको छ | सिद्धान्त र व्यबहार आजको शिक्षित समाजमा जतिधेरै भिन्नता छ, सभवत: विगतमा थिएन तर भविष्यमा अझैं यो बढ्नेवाला छ | योजनापूर्वक शिक्षित भएको मानव व्यबहारमा अझैं स्वार्थी, क्रूर तथा लोभी ठहरिएको छ | राजनीति र राजनीतिज्ञको दैनिकीमा शिक्षाको जडमा योजनाबद्ध तवरले तयार पारिएको शिक्षाले स्वार्थ प्रज्वलित भएको छ भने यो तत्थ्यलाई अस्वाभाविक मान्न सकिन्न |
प्रविधिको विकासले एस्तो राजनैतिक स्वार्थलाई अझैं विश्वव्यापी बनाएको छ | यही स्वार्थको वरिपरी जातीय, भौगोलिक, धार्मिक तथा आदिवादी र गैरआदिवासीको आवरणमा अझैं घनिभूत भएको छ | इन्टरनेटको माध्यमबाट घुम्ने डाटाहरूले झन् स्वार्थीहरूलाई एकआपसमा जोडिएर समानान्तर स्वार्थको निर्माण गर्न सजिलो बनाएको छ | आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि शिक्षाको दुरुपयोग गर्दै घृणावादका बीऊहरू सम्बृद्ध गर्दैछन् | राजनैतिक नेतृत्वका माध्यमबाट एस्तो स्वार्थ छताछुल्ल हुन्छ | नेपाली राजनीतिको यथार्थ यही हो |