११४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ८८६ पुग्यो
काठमाडौं । नेपालमा बुधबार ११४ जना कोरोना संक्रमित थपिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १७ जना, हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका एक जना र रौतहटका सात जनामा, पोखरामा गरिएको परीक्षणमा बागलुङका ६ जनामा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा रुकुमका तीन जनामा, र दाङका १५ जनामा, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका १६ जनामा, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सिरहा, सप्तरी, बारा, रौतहटका गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
योसँगै कुल संक्रमितको संख्या ८८६ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म १ सय ८३ जना उपचारपछि डिस्जार्च भएका छन् भने चार जनाको मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनले कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ८० जनाको पीसीआरबाट नमूना परीक्षण भएको जानकारी दिए ।
नेपालमा हालसम्म १ लाख ५८ हजार ५ सय ५९ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ । ५८ हजार २ सय ७२ जनाको पीसीआर र १ लाख २ सय ८७ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।