नेपाल–भारतका मानार्थ महारथीकाबारेमा
डा. प्रेमसिंह बस्न्यात ।
श्री ३ वीर शमशेर राणालाई ब्रिटिश इन्डियाले पहिलो पटक नेपाली प्रधानमन्त्रीलाई भारतमा रहेका ब्रिटिश गोर्खाको मात्र मानार्थ लेफ्टिनेन्ट कर्नेल (प्रमुख सेनानी) दिने चलन सुरु गर्यो । श्री ३ चन्द्र शम्सेरको पालामा मानार्थ मेजर जनरल (उपरथी) दिएको थियो भने भारतमा रहेको ब्रिटिश गभर्नर जनरललाई नेपाली सेनाको मानार्थ जनरल (महारथी) दिएको देखिन्छ । जब सन् १९४७ मा ब्रिटिश भारतबाट फर्कने भयो तब ब्रिटिशले स्वतन्त्र भारतलाईसमेत सोही परम्परा कायम राख्न भन्यो ।
किनकी ब्रिटिश गोर्खा आधा भन्दा थोरै बेलायती सेना बने भने धेरै इन्डियन गोर्खा बनेर यतै बसे । सोही कारणले मात्र मानार्थ महारथी कायम राख्ने काम जारी राखियो । त्यसपछि स्वतन्त्र भारतले श्री ३ लाई हैन श्री ५ महाराजधिराजलाई महारथी दिने भन्न थाल्यो । अनी राजा त्रिभुवनलाई मानार्थ महारथी दिने पत्राचार भयो । तर राजाले लिन मानेनन् र नेपाली सेनाका प्रधानसेनापतिलाई दिनु भने र नेपालका प्रधानसेनापतिलाई दिन थाल्यो । नेपालले पनि भारतीय प्रधानसेनापतिलाई दिन थाल्यो ।
सबैले बुझ्नु पर्ने कुरो मानार्थ महारथी दर्जा हो प्रधानसेनापति होइन । प्रधानसेनापति नियुक्ति हो दर्जा होइन । दुबै देशका प्रधानसेनापतिको दर्जा महारथी हो । मैले थाहा पाए अनुसार २०४६ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दी र भारतका चन्द्रशेखर लगायत नेपाल आएर आन्दोलन गरेकोले सो अबधिका प्रधानसेनापति सच्चित शमशेर राणाले भारतको मानार्थ महारथी दर्जा लिएनन् ।
गजबको कुरो त सच्चित शम्सेर राणा बङ्लादेशको चिफ साबको निमन्त्रणामा नेपाली सेनाको एभ्रो जहाज लिएर बङ्गलादेश जान खोज्दा भारतले प्रधानसेनापति राणालाई उसको भूमिबाट उड्न दिएन । प्रधानसेनापति राणा र उनको टोली बङ्गलादेश बिमानबाट ढाका गएका थिए ।
(बस्न्यात नेपाली सेनाका अवकास प्राप्त सहायक रथी हुन् ।)