यस्तो हुनुपर्दथ्यो प्रधानमन्त्रीको सम्बोधन
नारायण गाउँले ।
देशअनुसार मुद्दा पनि फ़रक हुने रहेछन् । ओलीको ठाउँमा न्युजिल्याण्डकी प्रमले आज सम्बोधन गरेकी भए शायद:
-सड़कपेटीमैं भोकका कारण ज्यान गुमाएका श्रमिकबारे बोल्ने थिइन् र सिङ्गो देश दुःखेको अभिव्यक्ति दिने थिइन् ।
-रुकुममा जातीय हिंसाको शिकार बनेका नवराज विश्वकर्मा र अन्यबारे दुई शब्द बोल्ने थिइन् र यो वीभत्स र अमानवीय घटनामा देशको तर्फबाट माफी माग्ने थिइन् ।
-आजै कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि बीरगञ्जमा दमका रोगी बद्रीबहादुर भट्टराईले एम्बुलेन्समैं ज्यान गुमाए । यो पीड़ादायी घटनाबारे पनि पक्कै दुई शब्द ख़र्च हुँदो हो ।
-आजकै खबर अनुसार भेन्टिलेटरमा राखिएका बिरामीको स्वाब परीक्षण रिपोर्ट उनको मृत्यु भएको आठ दिनपछि मात्रै आयो । यस्तो गम्भीर त्रुटि र लापरबाहीका लागि माफी माग्दै यस्तो नदोहोरियोस् भनेर गरिएको तयारीबारे जानकारी दिने थिइन् ।
-बोर्डरसम्म आएकालाई सुरुदेखि नै व्यवस्थित रूपले भित्ऱ्याउन नसकिएकोले हिजो र आज हजारौँको सङ्ख्यामा कत्ति पनि सामाजिक दूरी कायम नगरी भित्रिएको हूललाई कसरी क्वारेन्टीनको व्यवस्था गरिँदै छ भन्ने तथ्य पस्किने थिइन् ।
-क्वारेन्टीन स्थलमा पचासौं जनालाई एकै ठाउँमा राखिएको र एक जनामात्रै सङ्क्रमित भए पनि त्यहीँबाट सबैमा सङ्क्रमण फैलिइरहेको बारे दुःख र विकल्प प्रस्तुत गर्ने थिइन् ।
-आजसम्म निको भएका भनिएकाहरू धेरै जसो बिरामी नभएर कोरोनाभाइरस पोजिटिभ मात्रै भएको र अहिले रिपोर्ट निगेटिभ आएपछि घर फर्किएको जानकारी दिने थिइन् । उपचार नै चाहिने अवस्थाका बिरामीलाई भने बचाउन नसकिएकोमा दुःख व्यक्त गर्ने थिइन् ।
-विभिन्न मित्रराष्ट्र र नागरिकबाट डेढ़ लाख बढ़ी पीसीआर किट्स अनुदानमा प्राप्त भएको भए पनि तीन महिनासम्म पचास हजारको पनि परीक्षण गर्न नसकिएकोमा दुःख व्यक्त गर्दै दैनिक परीक्षणको लक्ष्य तोक्ने थिइन् ।
-र, अन्त्यमा कसरी सोसल डिस्ट्यान्सिंगका विभिन्न विकल्प प्रयोग गर्दै लकडाउनलाई अन्त्य गर्न सकिन्छ भन्ने स्पष्ट खाका प्रस्तुत गर्ने थिइन् । यति सबैका लागि शायद उनले मुश्किलले १० मिनेट लिने थिइन् ।
किन होला, हामीकहाँ नागरिक जीवन र भुइँसँग जोड़िएका विषय कहिल्यै राष्ट्रिय मुद्दा बन्दैनन् । हिजोको गरिनेछ भन्ने सम्बोधनबाट यति कुरा गरियो भन्ने अर्को सम्बोधन कहिल्यै हुँदैन । विदेशमा भने शासकले यस्तै दैनिक विषयलाई टिप्छन्, कत्ति पनि ईगो नराखी कमजोरी स्वीकार गर्छन् र सजिलै माफी माग्छन् । हाम्रा नेताहरू पनि देशविदेश घुमेकै छन् । पढ़ेलेखेकै छन् । आशा गरौँ, एक दिन हाम्रो सम्बोधन विश्वका लागि पनि उदाहरणीय बन्नेछ ।