रुपन्देही र पर्साबाट एकैदिन १९ जना कोरोना संक्रमित डिस्चार्ज
बुटवल । रुपन्देही र पर्साको वीरगंजबाट शनिबार १९ जना कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । बुटवलस्थित कोरोना विशेष अस्पतालबाट एकैसाथ १० जना संक्रमित निको भएर घर फर्किएका छन् ।
निको भएका उनीहरू सबै कपिलवस्तुका हुन् । दुई साताअघि अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले जानकारी दिए ।
त्यसैगरी, वीरगंजको नारायणी अस्पतालबाट कोरोना भाइरस मुक्त भएका नौ जनालाई शनिबार डिस्चार्ज गरिएको छ । चार पटकसम्मको पीसीआर रिर्पोटमा नेगेटिभ देखिएपछि अस्पतालमा उपचाररत एक भारतीय सहित नौ जनालाई डिस्चार्ज गरिएको हो ।
बैशाख १४ गते देखि २१ गतेभित्र अस्पताल भर्ना भएका रौतहटका तीन जना, पर्साका तीन जना, बाराका दुई जना र एक जना भारतीयको रिर्पोट नेगेटिभ आएपछि डिस्र्चाज गरिएको नारायाणी अस्पतालले जनाएको छ । योसँगै कोरोना निको भई घर फर्किनेको संख्या ८९ पुगेको छ ।