अब विदेशबाट फर्किएका युवायुवती र बेरोजगारलाई सीमामा तैनाथ गर्नुपर्छ
भरत दाहाल ।
कोरोनाबाट उत्पन्न हुन थालेको मानवीय संकटको समाधान गर्न सीमा सुरक्षालाई केन्द्रबिन्दुमा राखेर देशभित्रका बेरोजगारहरु र विदेशबाट फर्किने नेपालीहरुलाई भर्ती गर्नुपर्छ । यो पंक्तिलाई व्यवस्थापन गरिएन भने भोकमरीले देशमा आगो बाल्नेछ । ईण्डियासंग जोडिएको सिमाना सुरक्षित गर्ने हो भने ५ लाख जनशक्तिको खाँचो छ । बाँकी जनशक्तिलाई कृषि उत्पादनको योजनासंग जोड्नुको बिकल्प छैन। अब पनि विश्व बैंक र पश्चिमाहरुको मतियार बनेर राज्यकोष अनुत्पादक क्षेत्रमा लगाएर टेक्न सम्भव छैन ।
हामीसँग भएका श्रोतहरु खाद्यान्न उत्पादन, पशुपंछी, वनजंगल, जडिबुटी, पानी, खानी र पर्यटनहरु हुन् । यी क्षेत्रहरुमा आत्मनिर्भर नभैकन रेल, पानी जहाज र वाईडबडीको कुनै काम छैन । रेल, पानी जहाजका नाममा डुंगा, स्मार्ट सिटी र वाईडबडीका बकबासहरु हाम्रा लागि अहिलेका आधारभूत आवश्यकता होईनन् । सांसद विकास कोष, कथित सेवासुविधा र भ्रष्टाचारमा गरिने राज्यकोषको दुरुपयोग देश लुटेराहका लागि महंगो साबित हुनेछ । अब हुने विष्फोटबाट दलालहरुलाई विश्व बैंकले पनि बचाउन सक्ने छैन ।