मान्नैपर्छ एकढिक्का बनाएर लैजानुपर्ने बेला फुटाउनका लागि कानुन संशोधन गर्ने प्रधानमन्त्रीलाई !
नारायण गाउँले ।
आमाको मुखमा अन्तिम थोपा पानी दिने इच्छा कुन छोराको नहोला र ? तर महाकाली नदीपारि सम्म आएर पनि दार्चुलाका वासुदेव भट्टले आमालाई भेट्न पाएनन् । त्यहाँसम्म पनि सैह्य हुँदो हो । आमाको शवमा दागबत्ती दिन र घरनजिकै किरिया बस्न पनि देशले अनुमति दिएन । उनी नदीपारि नै ठाडो किरिया बसे । उनलाई देश आउन दिने कि नदिने भन्ने निर्णय गर्न हप्ता दिन लाग्यो ।
तर, ओम्नीलाई एक अर्बभन्दा बढीको ठेक्का दिन जम्मा तीन घण्टा लाग्यो । एक महिनासम्म टेण्डरमा कुनै निर्णय नगरी एकाएक शुक्रबार खारिज गरेको भनियो र तीन घण्टाभित्र प्रस्ताव मागेर, भोलिपल्ट शनिबार त जहाज उडि नै हाल्यो । कहिल्यै मेडिकल सामग्रीको कारोबार नगरेको कम्पनीले एक दिनमैं आवश्यक कागजातसहित सबै सामान जम्मा गरेर एअरपोर्ट पुऱ्यायो ।
राजनीतिको फोहोरी खेलका लागि पनि समय लागेन । संविधान नै संशोधन हुने गम्भीर विषयमा कुनै छलफल र औचित्यबिना दिउसो मन्त्रिपरिषदले निर्णय गर्यो, उत्तिखेरै राष्ट्रपति कार्यालयले प्रमाणित गर्यो र त्यही दिन कानुन बन्यो । आफ्नो पार्टी होइन, अरू नै पार्टी फुटाउन विधेयक ल्याउनुपरेको भन्ने घटिया स्पष्टीकरणमा पक्कै पनि विवेकी कार्यकर्ताहरूको शिर लज्जाले निहुरेको हुनुपर्छ ।
वाइडबड़ी दबिएकै थियो । ओलीले अडियो नै नक्कली भएको भन्ने निम्न स्तरको बचाउ गर्दै गोकुल बाँस्कोटालाई कारबाहीबाट बचाए । जग्गा फिर्ता गर्ने नाममा विष्णु पौडेललाई उन्मुक्ति मिल्यो । जबकि प्रशस्त पैतृक सम्पत्ति भएको उनैले बताएका थिए र सुकुम्बासी बनेर जग्गा पनि उनैले लिएका थिए । यो चरम अनैतिक काममात्रै नभएर आफैमा अपराध थियो ।
सिङ्गो विश्व चरम आर्थिक मन्दी र सङ्कटमा फस्ने अनुमान गरिँदै छ । निम्न वर्गका नागरिकलाई कसरी मद्दत पुऱ्याउन सकिन्छ भनेर देशहरू रातदिन योजना निर्माणमा लागेका छन् । इतिहासकै ठूलो समस्या भएकाले देशमात्र होइन, सिङ्गो विश्व नै एक भएर लड्नुपर्ने निष्कर्ष आइरहेका छन् । हाम्रा प्रमचाहिँ कसरी लूट र फुटको राजनीति गर्न सकिन्छ भन्नेमा दिनको १८ घण्टा खट्दा रहेछन् । विपक्ष र नागरिक समाज सबैलाई एकढिक्का बनाएर लैजानुपर्ने समयमा कुनै पनि सद्दे दिमागको नेताले फुटाउनका लागि कानुन संशोधन गर्दैन । पशुपतिनाथले हामी सबैको कल्याण गरून् र थप अनिष्ट सुन्नु नपरोस् ।