‘भेन्टिलेटरभन्दा बढी मन्त्री र हस्पिटलभन्दा बढी सांसद बनायौं, त्यसैले हामी बास्तवमैं महान् छौं’



नारायण गाउँले ।

नेपालमा सरूवा रोगका लागि सुविधासम्पन्न ल्याबसहितको छुट्टै विशेषज्ञ अस्पताल चाहिन्छ भन्ने ज्ञान राणा शासनमैं आइसकेको रहेछ ।
सड़कहरू नबन्दै हेटौँडाबाट काठमाडौंसम्म सामान ढुवानी गर्न ४० किलोमिटर लामो ‘रोप-वे’ बनिसकेको रहेछ ।
अहिले पनि रेल धेरैलाई सपनाजस्तै लाग्छ, तर जनकपुरमा हाम्रो अग्रज पुस्ताले रेल चढ़िसकेको रहेछ ।
अहिले विश्वभर विद्युतीय सवारी र यातायातबारे बल्ल चेतनाले अभियानको रूप लिँदै छ तर हाम्रो राजधानीमा दशकौँ अघि नै विद्युतीय ट्रली बस शानसित गुडेका रहेछन् ।

राजमार्ग, निकुञ्ज, रङ्गशाला, प्रदर्शनी स्थल, सांस्कृतिक संस्थान, नास्ट, प्रज्ञाप्रतिष्ठान, गौचरन, एअरपोर्ट र हस्पिटलजस्ता देशका महत्त्वपूर्ण पूर्वाधार धेरै अघि बनेका रहेछन् । इतिहास पढ्दै गर्दा मज्जा आउने भनेको त्यस्तो अभावको समयमा पनि थालेका धेरै जसो योजना समयमैं पूरा हुने रहेछन् ।

देशमा साइन्स क्याम्पस खुलेको पनि सय वर्षभन्दा बढ़ी भएछ । चिकित्सा, वनविज्ञान र इन्जिनियरिङ् संस्थान पनि पुरानै रहेछन् । अन्य कुरा त छोडौं, अहिले लकडाउनका लागि पनि दशकौं अघिको कानुन उपयोगी भएको छ ।

समग्रमा देश पहिले स्वर्ग थियो या आजभन्दा धेरै विकसित थियो भन्ने होइन, तर विकास के हो भन्ने ज्ञान हामीलाई धेरै अघि थाहा रहेछ । हामी आँखा खोलेर पनि फेरि निदाएका रहेछौं । बाँकी विश्वसँगै हामीले पनि हिँड्न सुरु गरेका त रहेछौं तर शायद हाम्रो गति साह्रै सुस्त भयो ।

यो सुस्त गतिका लागि हाम्रो पुस्ताले आफूलाई समीक्षा गर्नुभन्दा, सुधार गर्नुभन्दा अघिल्लो पुस्तालाई दोषारोपण गर्ने संस्कृति कहाँबाट विकास भयो कुन्नि ? शायद सजिलोका लागि पनि होला । किनकि अब अघिल्लो पुस्ता प्रतिवाद गर्न त पक्कै आउन्न । विश्वभर इतिहासको सम्मान र गौरवबोध हुन्छ, अघिल्लो पुस्ताले हासिल गरेका उपलब्धिको चर्चा हुन्छ । आजको विकास पक्कै आजकै मात्र जगमा भएको हुँदैन । इतिहास त परको कुरो भयो, हामी त एकअर्कालाई पनि स्वीकार नगर्ने निषेधमुखी अभ्यासमा बाँचिरहेका छौं ।

हो हामीकहाँ विभेद थियो, अशिक्षा थियो, गरिबी, शोषण र दमन थियो । तानाशाही शासन थियो । समाज विसङ्गतिपूर्ण थियो । तर यी सबै समस्या विश्वभर थिए । कतै मान्छेलाई सिक्रीमा बाँधेर किनबेच गरिने दासप्रथा थियो, कहीँ महिलालाई मत हाल्ने अधिकार थिएन । कहीँ जारहरूको दमन थियो भने कहीँ फिरङ्गीको उपनिवेश । तर आज सबैले तरक्की गरिरहेकै छन् । हामीकहाँ जहानियाँ शासनलाई प्रजातन्त्रले पराजित गर्दासम्म विश्वका धेरै देश तानाशाहीमैं थिए ।

शायद त्यहाँ राजनैतिक परिवर्तन र आर्थिक-सामाजिक रूपान्तरण सँगसँगै अघि बढ्यो । हामी राजनीतिमैं अल्झियौं । हामीले प्रजातन्त्रलाई लोकतन्त्र बनायौं । आन्दोलनहरूलाई महान् जन-आन्दोलन बनायौं । विश्वकै उत्कृष्ट संविधान बनायौं । राजनीतिमा गर्न सकिने जति प्रगति हासिल गऱ्यौं । यहाँसम्म कि एक लेनको राजमार्गमा अर्को लेन थप्न नसके पनि नामचाहिँ राजमार्गबाट लोकमार्ग थपिदियौं । भेन्टिलेटरभन्दा बढ़ी मन्त्री र हस्पिटलभन्दा बढ़ी सांसद पनि बनायौं । अरू देशका प्रदेशभन्दा देश सानो थियो । र, पनि सातवटा प्रदेश बनायौं । फल के मिल्यो भने, हिजो एकअर्कालाई जोड्न पुल बनाएका थियौं, आज आफ्नै देशका नागरिकलाई रोक्न पुलमा बार बनायौं ।

निराशा लाग्दो त के भने, अहिले पनि हामी राजनीतिमैं छौं । अबको दश वर्षमा हामीले ‘राजनीति’को ‘राज’लाई झिकेर ‘लोक’ थप्नेछौं र अर्को दश वर्ष त्यसैलाई महान् उप्लब्धिका रूपमा देखाउनेछौं । हामी बास्तवमैं महान् छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खुट्टा तान्ने प्रवृत्तिले मुलुकको विकासमा अवरोध भयो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकाअर्काको खुट्टा तान्ने प्रवृतिले मुलुकको विकासमा अवरोध

वामदेव गौतमको मुद्दा हेर्दाहर्दैमा, शुक्रबारका लागि तोकियो पेशी

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन

थप १,५५९ जनामा कोरोना संक्रमण, १,०५७ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको

बलात्कारका घटनामा अधिकांश नजिकका व्यक्ति संलग्न हुने गरेकाले रोक्न गाह्रोः प्रहरी महानिरीक्षक क्षेत्री

काठमाडौं । बलात्कारमा संलग्न व्यक्तिहरूलाई कुनै पनि बहानामा छुट नदिन र अनुसन्धान तथा