बन्दाबन्दी खोल्नेबारे सचेत हुन डब्लूएचओको आग्रह
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का प्रमुख डा. टेड्रस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसका कारण विभिन्न देशहरूमा लागू गरिएका ’लकडाउन’ खोल्न हतार गरिए त्यसले भाइरसको ’घातक पुनरोदय’ हुनसक्ने चेतावनी दिएका छन् । देशहरूलाई बन्दाबन्दी खोल्नेबारे सचेत हुन आग्रह गरेका छन् ।
युरोपमा कोरोनाभाइरस सङ्क्रमणको मारमा परेको इटली र स्पेनले ’लकडाउन’लाई जारी राख्दै बन्देज केही खुकुलो पार्ने बताइरहेका बेला गेहब्रेयससको चेतावनी आएको हो । कतिपय देशहरूले बन्दाबन्दीका कारण गम्भीर आर्थिक प्रभाव बेहोरिरहेका छन् । युरोपमा कोरोनाभाइरस सङ्क्रमणको सबभन्दा खराब असर बेहोरिरहेका इटली र स्पेनले त्यहाँ लगाइएका ’लकडाउन’लाई जारी राख्दै बन्देजमा केही खुकुलो पार्ने बताइरहेका छन् ।
संसारभरिमा अहिले सङ्क्रमितको सङ्ख्या १६ लाख नाघेको छ भने मर्नेहरूको सङ्ख्या पनि एक लाख नाघेको छ । जिनिभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै डा. टेड्रसले युरोपेली देशहरूमा सङ्क्रमणको गति ’सन्तोषप्रद ढङ्गले घटिरहेको’ बताए । उनले विभिन्न सरकारहरूसँग मिलेर डब्लूएचओले बन्देजहरू खुकुलो पार्ने रणनीति निर्माण गरिरहेको तर तत्काल त्यसका लागि हतार भने गर्न नहुने बताए ।