कोरोनाको कहरः म घर आउँदिन, तपाईं घर बाहिर ननिस्कनु …
डा. प्रदीप ढकाल ।
‘बाबु, घर आऊ, बरु छुट्टै कोठामा बसौला’ – बिरामी बृद्ध बाबाको आवाज कानमा गुञ्जिन्छ । सानो छोरो फोनमा भन्छ – ‘बाबा, तिमी किन घरमा नआएको ?’ श्रीमती भन्छिन् – ‘घरमा आउनुस् केही हुँदैन’ । आमा भन्नुहुन्छ – ‘घरमा बसे भइहाल्छ नि त्यस्तो कोरोना सोरोनाले केही गर्दैन’ । तर मलाई थाहा छ – अहिलेको समय भावनाले चल्ने समय होइन ।
म पशुपतिमा काम गर्छु । धेरै मानिसहरुसँग भेटघाट हुन्छ । विदेशबाट आएर घर जानुभन्दा पहिला भगवानको दर्शन गर्न आउने पहिलो ठाउँ पनि यही हो । अन्तिम संस्कारमा भाग लिन आउने ठाउँ पनि यही हो । संवेदनशील छ यो क्षेत्र । परेवा, बाँदर, बाख्रा, भेडा, मृगदेखि लिएर कुकुरसम्मको संरक्षण गर्नका लागि पनि यही क्षेत्रमा रहनुपर्छ । कर्तव्य सम्झेर मलाई घर जान मन लाग्दैन । अफिस र कार्यक्षेत्रहरुमा जाँदा मास्क लगाउँछु, हात धुन्छु । अरु व्यक्तिसँग फरक दुरीमा रहने कोशिस गर्दछु । तर कर्म गरिरहँदा पनि फैलिन सक्ने किटाणुको एउटा सम्भावित शिकार म पनि त हुँ नि । यो सोचेर म बृद्ध र बच्चाहरुको समीप जान सक्दिन ।
३ घन्टादेखि ७२ घन्टासम्म कोरोना भाइरसको किटाणु जिवीत रहन्छ भन्ने तथ्यहरु आइरहेका छन् । एक संक्रमित व्यक्ति अर्को व्यक्तिसँग हिमचिम नहुनु नै यो रोगबाट बच्न सकिने पहिलो आधार हो । कतिपयको रोग प्रतिरोधात्मक क्षमताका कारण यो किटाणुले असर नगर्ला र उक्त व्यक्तिले यो थाहै नपाईकन असर पनि सिद्धिएला र निको होला । आज सग्लो मानव केही दिनमा पूर्णरुपमा टुटेर मृत्यु पनि भएको त हामीले सञ्चार माध्यमबाट थाहा पाइरहेकै छौँ । त्यसैले आज स्वस्थ छु भनेर सरकारले आव्हान गरेको ‘घर बाहिर ननिस्कनु’ भन्ने आग्रहलाई नटेरेर बाहिर भीडभाडमा निस्कनु भनेको हामीले आफू र आफ्नो परिवारको मात्र होइन देशकै भविष्यमाथि पनि खेलवाड गरेको हो ।
अहिले कुनै राष्ट्र धनी वा कुनै गरीब भन्ने तुलना नै छैन । यो महामारीले सबैको हैसियत एउटै बनाइदिएको छ । व्यवस्थापन चुस्त रुपमा कसले कति गर्न सक्छन् भन्ने मात्र हो । त्यसैले राज्य र राज्य संयन्त्रलाई गाली गरेर आफ्नो कर्तव्य पूरा हुन्छ भन्ने मुर्खता पनि नगरौँ । अहिलेको कर्तव्य भनेको सबैजना अलग अलग रहौँ । घरबाहिर ननिस्किऔँ ।
धुलो, धुवाँ खाएर हिलोमैलोमा हुर्केको हुनाले हामी नेपालीको प्रतिरक्षा प्रणाली बलियो छ भन्ने हाम्रो भ्रम आधारहीन छ । हामीले हाम्रो प्रकृतिमा भएका जडीबुटी, जैविक रुपमा शुद्ध खाद्यान्न खाई योग, ध्यान आदि गरी सन्तुलित जीवनपद्धति अपनाएको भए हाम्रो तर्कको केही अर्थ हुने थियो । हामी यो भ्रमबाट मुक्त होऔँ ।
राज्यले चाहेको तपाईँ–हामी घरमै बसौँ भन्ने नै त हो । हो आधारभूत आवश्यकताका सामग्री उपलब्ध गराउनु राज्यको दायित्व हो । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारबाट त्यो प्रयास पनि जारी नै छ । राज्यले अहिले हामीबाट धेरै कुराको अपेक्षा गरेकै छैन – तुलबुल तुलबुल नगरी चञ्चल नभईकन घरमा बसिदिए मात्र पुग्छ । हाम्रो घरबसाई नै राज्यप्रति, मानवताप्रति गरेको कर्तव्य नै हो ।
राज्यको आग्रह लत्याउनु भनेको मृत्युलाई स्वीकार गरेर लखरलखर सडकमा हिँड्नु हो । सुन्दा त अप्रिय लाग्छ तर अहिले सावधानी नअपनाउनेहरु र राज्यको आग्रहलाई अवज्ञा गरेर रमाउनेहरु आफ्ना लागि मृत्यु स्वीकार गर्ने बहादुर हुन् भने अर्को अर्थमा अरुको जीवन लिन खोज्ने अपराधी हुन् । हातमा तरबार लिएर अरुमाथि जाइलाग्ने क्रुर अपराधी भन्दा खतरनाक हुन सक्छन् अहिले अवज्ञा गर्नेहरु । अहिले सग्लो छु भन्ने भ्रम पालिरहँदा कुन पलमा टुटेर ढल्छु भन्ने हेक्का नभएका अज्ञानी मुर्खहरु हुन् ।
मेरै कहानी सुनाउँछु । ९ दिनपछि हिजो म घरमा गएँ । मेरो बृद्ध र रोगी बाबा भन्नुहुन्छ – छोरो आऊ म नजीकै बस । छोरो भन्छ – बाबा, तिमी कागती पानी र मह खाऊ कोरोना भागिहाल्छ । तर म न त बाबाको नजीक बस्न सक्छु न त छोरोलाई काखमा राख्न नै सक्छु । छुट्टै कोठामा बसेपनि कहीँ न कतैबाट त सम्पर्क भइ नै हाल्छ । त्यसैले बाहिर काम गर्न जाने म केही दिन घरमा नजाँदा नै उत्तम ठानेको छु । बाहिरै हुँदा पनि म सावधानी अपनाउने गर्दछु ।
म यो समयमा छुट्टी मनाउन घरमा बस्न मिल्दैन । मैले कर्तव्य गर्नुपर्छ । घरमै बस्ने सुविधा पाएको भए म पनि घरका सदस्यहरुसँग भलाकुसारी गर्दै, सानो छोरोसँग खेल्दै समय बिताउथेँ । पढ्न मन लागेका पुस्तकहरु पढ्थेँ ।
ए साथी, तपाईँले जब समय पाउनुभएको छ भने किन तुलबुल र चञ्चल हुनुहुन्छ ? घरमै बस्नु न हो । राज्य र मानवसमाजप्रति हामी सबैले दिनसक्ने यो शताब्दीको सबैभन्दा ठूलो योगदान भनेको केही दिन घरमा बसिदिनु नै हो । बिनम्र अनुरोध – घरमै बस्नुस् ! घरमै बस्नुस् !! घरमै बस्नुस् !!!