किन सम्बन्ध विच्छेद र ब्रेकअप पीडादायी हुन्छ ?



कोही प्रियसँगको विछोड, आफूभित्रको अंशको मृत्यु हो

ब्रेकअपका कारण हुने पीडा केवल भावनात्मक चोट मात्रै नभई मनोवैज्ञानिक र शरीरिक स्वास्थ्यसँग पनि सम्बन्ध राख्छ । मनपर्ने मानिससँगको बिछोडका कारण मानसिक सन्तुलन गुमाएको, प्रेमी प्रेमिकाको हत्या वा आत्महत्यासम्म गरेका घटनाहरू सुन्न देख्नमा आउँछन् । आखिर किन सम्बन्ध विच्छेद र ब्रेकअप निक्कै पीडादायी हुन्छ त ?

प्रेममा असफलताका कारण भएको पीडा मात्रै नभई हरेक मानसिक पीडा गहिराईमा बुझ्नु मानिसको अहम् भाव अर्थात् ‘म’ भन्ने भाव बुझ्नु जरुरी हुन्छ ।‘म’भन्नुहाम्रो आफ्नो स्मृति हो । हिजो हामीले छोएका, देखेका, सुनेका, महशुस गरेका, भोगेका, गरेका कुराहरूको संस्लेषण नै हाम्रो स्मृति हो । ‘म’ भन्नु केवल एउटा व्यक्ति मात्रै नभई सम्बन्ध, पेशा वा हामीले निभाएका भूमिकाहरूको विभिन्न आयमहरूको संयुक्त स्मृति भाव हो ।

यस्ता विभिन्न आयामहरूमा एउटा महत्वपूर्ण आयाम भनेको सम्बन्धको आयम हो । हामी बुबा वा आमा बनेको बखत हाम्रो सन्तान मात्रै जन्मेको हुँदैन, सन्तानसँगै हामीभित्र बुबा वा आमा पनि जन्मेको हुन्छ । सन्तान जति बढ्दै जान्छ हामीसँग बुबा आमाका रूपमा भूमिका निभाएको स्मृति पनि थपिँदै जान्छ । आफ्नो लिङ्गका आधारमा हामी थोरै छोरा–छोरी हौं । थोरै श्रीमान–श्रीमती हौं । थोरै दाजुभाइ–दिदीबहिनी हौं । हामी थोरै थोरै विभिन्न सम्बन्धहरूको संयुक्त रूप हौं । हामीसँग यस्ता सम्बन्ध निभाउनुको स्मृतिहरू छन् ।

सबै सम्बन्धहरूले ‘म’ भावको विकासमा भूमिका निभाएको हुँदैन । केही विशेष सम्बन्धहरूको भूमिका हुन्छ । विशेषगरि त्यस्ता सम्बन्धहरू जो अर्को कुनै तेस्रो मानिसले पुनस्र्थापना गर्नै सक्दैन, त्यस्ता सम्बन्धहरूले ‘म’ भावको निर्माणमा विशेष योगदान दिएको हुन्छ । उदाहरणका लागि हाम्रो जीवनमा धेरै साथीहरू हुन्छन् । साथीहरूको मृत्युले खासै नदुख्नुसक्छ तर मिल्ने साथी जोसँगको सम्बन्ध अर्को तेस्रो व्यक्तिद्वारा पुनस्र्थापित हुन सक्दैन, त्यस्तो साथीको मृत्यु असह्य हुन्छ । त्यसैले हाम्रो आफ्नो कोही प्रिय मर्दा हामी भित्रको केही अंश मरेको हुन्छ । बुबा मर्दा हामीभित्रको छोरा पनि मरेको हुन्छ । हाम्रो आफ्नो कोही मर्दा जुन पीडा हुन्छ त्यो प्रियजन मर्दाको पीडा कम र आपूmभित्रको केही अंश मर्नुको पीडा बढी हो । प्रेमको अर्थ यस्तो मिलन हो जहाँ दुई व्यक्ति मिलेर ‘म’ बनेको हुन्छ । त्यसैले प्रेममा परेकाहरूलाई एकअर्को विना आफैं अपूरो लागेको हो । सम्बन्ध विच्छेद वा ब्रेकअप गर्नुभनेको स्वेच्छाले आफूभित्रको एउटा अंशलाई मार्नु हो । यसरी आफूभित्रको अंशको मृत्युको कारण हामीलाई पीडा हुने हो ।

रगतका नाताका सन्दर्भमा हामीले स्वेच्छाले छानेर कसैको मातपिता, कसैको छोराछोरी वा कसैको काकाकाकी आदि इत्यदि बनेका होइनौं । तर वैवाहिक सम्बन्ध, मित्रता र प्रेमको सम्बन्धहरू हाम्रो स्वेच्छाको परिणाम हो । हामीले आफ्नो श्रीमान्–श्रीमती वा प्रेमी–प्रमिका स्वेच्छाले छानेका हुन्छौं । स्वेच्छाले बनाएको सम्बन्ध ब्रिगिएको खण्डमा सम्पूर्ण जिम्मेवारी स्वयंले नै लिनुपर्छ । सम्बन्ध विच्छेद वा ब्रेकअप भएको सन्दर्भमा दुई वटा कुरा हुन्छन् ; एक आफ्नो श्रीमान्–श्रीमती वा प्रेमी–प्रेमीका आफ्नो लागि अयोग्य भयो भन्नु हो । यस अर्थमा हामीले सबैभन्दा राम्रो मानेको मान्छे नराम्रो हो भनेर साबित हुँदा हामी असफल भएका हुन्छौं । अर्को अवस्था भनेको आफ्नो श्रीमान्–श्रीमती वा प्रेमी–प्रमिकाको नजरमा आफू अयोग्य दरिनु हो । वास्तवमा मानसिक पीडा त्यो अवस्थामा आउँछ जब हाम्रो अहम्तामा अर्थात् ‘म’ भन्ने भावमा चोट लाग्छ । हामी भित्र कोही मर्दा, प्रेममा असफल वा अयोग्य भइँदा हाम्रो अहम्ता चोट पुग्छ ।

सामाजिक संस्कार

प्रिय मानिससँगको बिछोडको पीडा सहन गर्न नसक्नुमा हाम्रो समाजिक संस्कारको पनि भूमिका छ । सानै छँदाबाट जब हामीले राम्रो काम गर्छौं हाम्रो अभिभावक खुसी हुन्छन् । राम्रो छोरा, ज्ञानी छोरी आदि भनेर हामीलाई सम्बोधन गर्दछन् । अनि जब नराम्रो काम गर्छौं, रिसाएर अभिभावकले नकारात्मक शव्दको प्रयोग गर्ने गर्दछन् । यस्तो संस्कारमा हुर्किरहँदा हामीले सानैदेखि राम्रो काम गरेर, ज्ञानी बनेर अभिभावकलाई हरसम्भव खुसी बनाउन खोजेका हुन्छौं । यस्ता ‘गुड चाइल्ड’ बन्ने संस्कारका कारणले पनि सम्बन्ध विच्छेद वा ब्रेकअपको बेला हामीलाई पीडा हुने सन्दर्भमा ठूलो भूमिका खेलेको हुन्छ ।

आत्मीयजनलाई खुसी बनाउन खोज्नु आममानिसमा हुने गरेको संस्कार हो । हामीले आफ्नो श्रीमान्–श्रीमती वा प्रेमी–प्रेमीकालाई खुसी बनाउने सन्दर्भमा भरमग्दुर प्रयास गरेका हुन्छौं । अनि जब हाम्रो प्रयासले हाम्रो आफ्नो श्रीमान्–श्रीमती वा प्रेमी–प्रेमीकालाई खुसी हुन्छन्, हामी खुसी हुन्छौं । अनि जब हाम्रो प्रयासका बाबजुद हाम्रो आफ्नो श्रीमान्–श्रीमती वा प्रेमी–प्रेमीका खुसी हुँदैनन् हामीलाई चोट पुग्छ । स्वभाविक रूपमा प्रायजसो मानिसलाई आफू निक्कै नै गुणी हुँ भन्ने लाग्छ । कमै मानिसले आफ्नो दुर्गुण र दोष देख्छन् । हाम्रो ‘गुड पर्सन’ बन्ने संस्कार र आफ्नै बारेमा बनाइएको राम्रो छविका कारण प्रायजसो मासिनले; म एउटा गुणी मानिसले राम्रो मन लिएर यति धेरै माया गर्दा पनि किन यस्तो व्यवहार गरेको हो,भन्ने भाव पाल्छन् । जब हाम्रो सम्बन्ध विच्छेद वा बे्रकअप हुन्छ हाम्रो ‘गुड पर्सन’ बन्ने प्रयास असफल हुन्छ ।

अहम्ताको महत्वपूर्ण आयाम हाम्रो छवि पनि हो । त्यसैले हामीलाई आफ्नो छवि भत्कँदा निक्कै पीडा हुन्छ । जो मानिसले हामीलाई सबैभन्दा नजिकबाट चिनेको हुन्छ । जसको नजरमा ‘गुड पर्सन’ बन्न हामीले निक्कै मिहिनेत गरेका हुन्छौं । त्यहीं मानिसको नजरमा हाम्रो छवि, हामीले चाहेको अनुरूपको बनाउन नसक्नाको पीडाले पनि ब्रेकअपलाई दुःखदायी बनाएको हुन्छ ।

त्यस्तै पुरुष र स्त्रीको सम्बन्धलाई सात जुनीको बन्धन भनेर सिकाउने हाम्रो सामाजिक संस्कार छ । जिन्दगीभर कुनै एक स्त्री र पुरुषलाई प्रेम गरिरहनु भनेको सत्चरित्र हो भन्ने कुरा सिकाइएको छ । तर प्रकृतिको स्वभाव हो, संसारको सबै कुरा परिवर्तनशील हुन्छ । मानिस नवजात शिशुबाट बृद्ध हुँदा शरीरमा देखिएको परिवर्तन जति स्वभाविक कुरा हो, त्यस्तै मानिसको मन पनि परिवर्तनशील हुन्छ । आज प्रेम गर्नेले भोलि घृणा गर्छ भने त्यो स्वभाविक हो । त्यसो हो भने एक जना स्त्री वा पुरूषलाई जिन्दगीभर माया गरिरहनु सम्भव नहुन पनि सक्छ । हामीलाई कसैबाट केही पनि अपेक्षा गर्नु हुँदैन भनेर सिकाउनुको साटो कसै एकजनाप्रति जीवनभर उत्तरदायी हुन सिकाइएको कारण पनि सम्बन्ध विच्छेद र ब्रेकअप हाम्रो लागि समान्य नभई असह्य हुन्छ ।

त्यस्तै हामीले वैवाहिक सम्बन्ध वा प्रेम सम्बन्धलाई सफल बनाउन समय र रुपैयाँ जस्ता भौतिक वस्तुको मात्रै लगानी गरेका हँुदैनौं हामीले मनोवैज्ञानिक रूपमा साना साना कुरामा अनगिन्ती पटक भावनात्मक प्रयास गरेका हुन्छौं । हो ब्रेकअपको अवस्थामा हाम्रो त्यही मनोभावनात्मक लगानी सम्पूर्ण रूपमा खेर गएको हुन्छ । त्यही लगानी खेर जानुको चिन्ताले पनि ब्रेकअपको सन्दर्भमा घाउमा नुनचुक छर्कने काम गरेको हुन्छ ।

बिछोडका लागि मस्तिष्क तयार भए पनि शरीर नहुन सक्छ 

सम्बन्ध विच्छेद र ब्रेकअपका कारण हुने पीडामा शरीरिक संवेदनाले पनि पीडा थप्ने काम गरेको हुन्छ । हाम्रो मनमा उठेको विचार वा हृदयका कारण जागेको भवनाले हाम्रो शरीरमा केही न केही अप्रिय संवेदना जागेको हुन्छ । अनि फेरि अप्रिय शरीरिक संवेदनाका कारणले हाम्रो मानसिक र भावनात्मक उत्तेजना बढाउने काम गरेको हुन्छ । मस्तिष्कमा जागेको विचार, हृदयका कारणले जागेको भाव अनुरूपको शरीरमा संवेदना आउँछ अनि शरीरको संवेदना अनुरूप विचार र भावना पैदा हुन्छ । हाम्रो शरीरको संवेदना, मानसिक सोच र भावनात्मक उत्तेजनाबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । तसर्थ शरीर, मष्तिस्क र हृदयमा एकमा परेको प्रभावले अर्कोलाई तत्क्षण नै असर पुर्याउँछ ।

हामी आफ्नो मानसिक र उत्तेजनाका सन्दर्भमा त सचेत हुन्छौं । तर सामान्य अवस्थामा हामी हाम्रो शरीरिक संवेदनाप्रति सचेत हुँदैनौं । सचेत भएका कारण कुनै विशेष परिस्थितिमा मनोभावनाको हकमा हामीले केही तयारी गर्न सक्छौं । तर शरीरिक संवेदनाप्रति होसपूर्ण नहुँदा सम्बन्ध विच्छेद र ब्रेकअपका सन्दर्भमा हाम्रो तयारी अपूर्ण हुन्छ । मानसिक स्तरमा हामी सम्बन्ध विच्छेद वा ब्रेकअपका लागि तयार भएर निर्णय लिएका हुन्छौं । तर शरीरिक रूपमा भने हामी तयार भएका हुँदैनौं । मस्तिष्कले बिर्सनु खोज्छ तर शरीरले मिलनको अवस्थामा महसुस गरिएका प्रेमिल अनुभूतिका प्रिय संवेदनाहरू भुल्नु सकेको हुँदैन । शरीरले र मस्तिष्कले विपरित कुरा चाहेका सन्दर्भमा पीडा बढ्न जान्छ । यही मस्तिष्क र शरीरको लडाईंले हाम्रो भावनालाई अनियन्त्रित बनाउँछ ।

पीडा विछोडका कारण नभई हाम्रै मानसिक कमजोरीका कारण हुन्छ

प्रेम आफैंमा एक विशेष भाव हो । प्रेम विशेष यस मानेमा छ कि प्रेमले हामीलाई आनन्द दिन्छ । रोमान्चित बनाउँछ । विशुद्ध प्रेममा पीडा वा तनाव भन्ने कुरा हुँदैन । तर हामीमा एक प्रकारको मानसिक कमजोरी हुन्छ । हाम्रो मनोदशा र मनोभाव परिवर्तनशील हुन्छ । शारीरिक संवेदना पनि परिवर्तनशील हुन्छ । हामी सधैं रमाइरहनु वा सधैं निरास भइरहन सक्दैनौं । त्यस्तै कसैसँगको प्रेमबाट प्राप्त हुने आनन्दको भाव सधैं उस्तै रहँदैन तर अचेतन रूपमा हामीलाई सधैं उस्तै आनन्दको भावको चाहा हुन्छ । हामीले चाहेको विगतका आनन्दका भाव फेरि फेरि दोहर्याएर भोग गर्नु नपाएको अवस्थामा हामीलाई पीडा हुन्छ । त्यसैले जुन कुराबाट हामी जति धेरै आनन्दित हुन्छौं, त्यो कुराको अभावमा हामी त्यति नै मात्रामा तनावित पनि हुन्छौं । श्रीमान्–श्रीमती वा प्रेमी–पे्रमीकाको उपस्थितिमा प्रेम भावका कारण जुन आनन्द मिल्छ, सम्बन्ध विच्छेद वा ब्रेकअपको अवस्थामा सम्बन्धित व्यक्ति र उस्तै वातावरण दोहोरिने सम्भावना अन्त्य भयो भन्ने चिन्ताका कारण पनि हामीलाई पीडा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिगमनविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने प्रचण्डको उद्घोष

चितवन । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ

काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट कोभिडविरुद्धको खोप दिइने

काठमाडौं । कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने

सर्वोच्चमा प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको

‘प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बरबराउने गर्छन्’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र