राजतन्त्र नै सधैंका लागि विदा गर्ने ज्ञानेन्द्र शाहको त्यो कदम
विष्णु रिजाल ।
आज माघ १९ । १५ बर्षअघि आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्रले आफ्ना दाजु वीरेन्द्रले ०४६ सालको जनान्दोलनका कारण जनतासँग गरेको सम्झौता भंग गर्दै निरंकुशता लादेका थिए । दलहरूको सरकार अपदस्थ, नेताहरूको गिरफ्तारी, संचारमाध्यममाथि सेन्सरसीप, सभासम्मेलनमा प्रतिबन्ध, टेलिफोन-इन्टरनेट बन्द गर्दै बुबाका पालाका पुरातात्विक, मण्डले र जनताले नचिनेका मान्छेहरूलाई अघि सारेर सेनाको आडमा निरंकुशता थोपर्न ज्ञानेन्द्रले ‘कु’ गरेका थिए ।
राजावादीहरू जनमत र जनअधिकारको खिल्ली उडाउन ‘गणतन्त्र विदेशीले ल्याइदिएको’ भनेर हुर्मत लिन रमाउँछन् । म ठोकेर भन्छु- नेपालमा गणतन्त्र ज्ञानेन्द्रको ०६१ माघ १९ को आत्मघाती, निरंकुश र समयको प्रवाह विपरीतको कदमका कारण यति छिटै आएको हो ।
राजा संविधानको सीमाभित्र रहँदासम्म मूलधारका दलहरू (कांग्रेस-एमाले) ले राजतन्त्रसँग सहकार्य गर्दै त्यसमाथि कहिल्यै प्रश्न उठाएका थिएनन् भने विद्रोही माओवादीले ‘अघोषित सहकार्य’ बाट अघि बढेर घोषित सहकार्यका लागि आन्तरिक सम्वाद गरिरहेको थियो । यस्तो अवस्थामा ०१७ साल फर्काउने ज्ञानेन्द्रको कदमले उनलाई मात्र डुबाएन, राजतन्त्रलाई नै सधैंका लागि विदा गरेको विश्लेषण नै यथार्थ हो ।