‘नेपालमा सच्चा शहीदहरुको बलीदानको अपमान गरियो’



–दीर्घराज प्रसाई।

अमर शहीदहरुको त्याग तपस्याको हुर्मत लिने काम ! अमर सहिदहरू- शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालालको महान् त्यागको सम्मान गरौँ !

१९९७ साल माघमा चार सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठहरू राणाको जहानिया शासनविरुद्ध सहिद बनेपछि नेपालमा प्रजातन्त्र स्थापनाको बाटो खुलेको थियो। १९९७ साल माघ ९ गते राति शुक्रराज शास्त्रीलाई टेकुमा र माघ ११ गते धर्मभक्तलाई सिफलको रुखमा झुन्ड्याइयो । दशरथ चन्द र गंगालाललाई शोभा भगवतीपूर्व विष्णुमती किनारमा माघ १५ गते गोली ठोकेर मारियो । सहिदहरूको लासलाई सर्वसाधारणलाई त्रसित गराउन प्रदर्शनसमेत गरियो।

नेपालमा राणाशासनको अत्याचारको पराकाष्ठा नाघिसकेको थियो । प्रजातन्त्र स्थापनाको लागि कुनै न कुनै प्रकारको समर्पण देखाउनुपर्ने अवस्था आइसकेको थियो । राणाशासनविरुद्ध प्रचण्ड गोर्खा नामक संस्था खोलेको अभियोगमा खड्गमान सिंहलाई भद्रगोल जेलभित्र पिँजडामा राखिएको थियो।

१९९३ साल जेठ २० मा ओमबहालमा राणाशासनविरुद्ध प्रजापरिषद् जन्मियो । रामहरि शर्मा त्यसको महामन्त्री भएका थिए । राणाशासनविरुद्ध लागेकाहरूको खोजी कार्य तीव्र पारिएको थियो । सबै कैदीहरूलाई सजाय सुनाउनुभन्दा तीन महिना पहिलादेखि सिंहदरबारमा राखिएको थियो। १९९७ सालमा कसलाई मृत्युदण्ड दिने र जन्मकैद गर्ने सबै विवरणसहितको फैसला पद्मशमशेरले सुनाएका थिए । तीन महिना सिंहदरबारभित्र कैदमा राख्दा हरेक दिन बयानमा कोर्रा लगाइन्थ्यो । एक दिन गणेशमान सिंहलाई कोर्रा हान्दा असह्य भएर जोडदारसित कराएका थिए, ‘मृत्युसँग किन डराउने, हान जति हान्छस् कोर्रा।’ शुक्रराज शास्त्रीसँग जुद्धशमशेर धेरै आक्रोशित भएर उनलाई देखाउँदै भन्थे, ‘नाइके यही हो।’

राणाशासनविरोधी आन्दोलनमा संलग्न रहेकाले राणाहरू स्नातक गरेका शुक्रराज शास्त्रीसँग आक्रोशित थिए। दशरथ चन्दलाई कोर्रा हान्दा उनी पनि जोडदार कराएका थिए, ‘मलाई मारे पनि म भूत भएर राणालाई खान्छु-खान्छु।’ राजा त्रिभुवनसँग जुद्धशमशेर आगो थिए। राजा त्रिभुवनको राणाविरोधी प्रजापरिषद्को आन्दोलनमा हात छ भन्ने ठानेर राजा त्रिभुवन, युवराज महेन्द्र, अधिराजकुमारहरू हिमालय तथा वसुन्धारासमेतलाई राणाको कथित सैनिक इजलासमा ल्याएर पटक-पटक केरकार गरिएको थियो। सजाय सुनाइसकेपछि मृत्युदण्ड पाउनेहरूलाई अर्कैतिर र अरूलाई भद्रगोल जेलमा लगर थुनियो।

गणेशमान सिंहसमेत सर्वस्वहरणसहित जेल परेका थिए। उनी जेलबाटै भागेर प्रजातन्त्र स्थापनाको लागि सक्रिय बने। यी सबै सहिद तथा जिउँदा सहिदहरू वैधानिक राजतन्त्र तथा प्रजातन्त्रको लागि पूर्णतः आफूहरूलाई समाहित गरेका थिए। बीपी कोइराला, मात्रृकाप्रसाद कोइरालालगायत धेरै प्रजातान्त्रिक योद्धाहरूले प्रवासमा नै राणा शासनविरोधी कार्यक्रम गरेका थिए। टंकप्रसाद आचार्य र रामहरि शर्मा ब्राह्मण भएकाले चार पाटा मुडेर सर्वस्वसहित जन्मकैद गरिएको थियो । उहाँहरूसँगै राणा शासनविरोधी अभियोगमा परेका गोविन्दप्रसाद उपाध्याय, चूडाप्रसाद शर्मा, हरिकृष्ण श्रेष्ठ, सिद्धिचरण श्रेष्ठ, धर्मरत्न यमी, फत्तेबहादुर, चिनियाँलाल, पं मुरलीधरहरू जन्मकैद भए।

२००७ सालमा राजा त्रिभुवन श्रीपेच दाउमा पारेर दरबारै छोडेर हिँडे। अन्ततः राजा त्रिभुवनसहित प्रजातन्त्रवादी नेपालीहरूले प्रजातन्त्र स्थापित गराइछोडे। २००७ सालमा प्रजातन्त्रको उदय भएपछि मात्र प्रजातान्त्रिक योद्धाहरू जेलमुक्त भएका थिए। राणाविरोधी अभियोगमा परेका गोविन्दप्रसाद उपाध्याय, चूडाप्रसाद शर्मा, हरिकृष्ण श्रेष्ठ, सिद्धिचरण श्रेष्ठ, धर्मरत्न यमी, फत्तेबहादुर, चिनियाँलाल, पं मुरलीधरहरू पनि जेलमुक्त भएका थिए । महावीर स्कुल खोलेर राणाविरोधी क्रियाकलाप गरिएको भनेर चिनियाँलाल सिंहलाई जन्मकैद दिइयो र उनको र बलबहादुर पाण्डे जेलभित्रै मरे। सिद्धिचरण श्रेष्ठ तथा केदारमान व्यथितहरू पनि जेलभित्रै कोचिएका थिए । सिद्धिचरणले त कविता लेखेका थिए, ‘बिखालु किट जन्मेर फैलाए रोग बेगिन्ती, स्वदेशी हुन् भनी खाली नमारौँ के किरालाई?’

राजा र जनताको नेतृत्व र सक्रियताबाटै नेपालको एकीकरण र प्रजातन्त्रको स्थापना हुन सकेको हो। राजा त्रिभुवनलाई फसाउन विवादास्पद लालमोहर पनि राजाकै नामबाट गराइन्थ्यो । राजा त्रिभुवन पनि लुकीलुकी प्रजातान्त्रिक योद्धाहरूलाई भेट्ने तथा अनेकौँ उपाय गरेर उनीहरूबाट गोप्य कागजपत्र राजा त्रिभुवनसमक्ष पुर्याइन्थ्यो। राजा त्रिभुवनबाट पनि गोप्यरूपमा त्यसको प्रत्युत्तर जाने गथ्र्यो । राजा त्रिभुवनको सेवामा रहेकी नर्स एरिकाले लेखेको पुस्तक र गणेशमान सिंहको भनाइ, कम्पाउन्डर चन्द्रमान, खड्गमान सिंहबाट लिखित पुस्तक ‘जेलमा बीस वर्ष’, त्रिभुवन स्मृति ग्रन्थ तथा अनेकौँ जिउँदा सहिदहरूको भनाइबाट पनि यी कुरा थाहा हुन्छ।

२०६२ सालपछि भारतले आफ्नो गुप्तचर संस्था ‘रअ’ लाई अघि सारेर नेपालमाथि नांगो हस्तक्षेप सुरु गर्यो। यसले नेपालको अस्मितामाथि ठूलो संकट ल्याएको छ । नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला, एमालेका माधव नेपाल र माओवादीका प्रचण्ड २०६२ मंसिरमा कथित बाह्रबुँदै सहमतिमा हस्ताक्षर गरेर नेपालको स्वाभिमानसँग खेलबाड गर्ने काम गरे।
२०६३ सालको जनआन्दोलनलगत्तै चारजना अमर सहिद र राजा त्रिभुवनको विषयमा अनर्थ विवाद उठाउने काम भयो । आन्दोलनमा मारिएका व्यक्तिहरूलाई समेत अन्धधुन्ध सहिद घोषणा गरेर १९९७ सालका चार अमर सहिदहरूलाई समेत ओझेलमा पार्न खोजियो।

माओवादी नेता बाबुराम भट्टराई २०६८ साल भदौमा प्रधानमन्त्री बने । उनले राजा त्रिभुवनको सालिकलाई सहिदगेटबाट हटाउने निर्णयसमेत गराए । यो उनको राजा त्रिभुवनप्रतिको प्रतिशोध थियो। उनले बुझ्नुपर्ने के हो भने राजाको हैसियतले मात्र राजा त्रिभुवनको मूर्ति सहिदगेटमा राखिएको थिएन। राजा त्रिभुवनले नेतृत्व नगरेको भए २००७ सालमा प्रजातन्त्र आउने थिएन । शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त, गंगालालहरू हराउन सक्थे।

जापानमा सन् १८६८ मा राजाको नेतृत्वमा मेजी रेस्टुरेसनबाट सगुनहरूको निरंकुश शासन समाप्त गरेर प्रजातन्त्रको जग बसाइएको थियो । त्यस्तै नेपालमा पनि राजाबाट प्रजातन्त्र स्थापनाका लागि भएको योगदानलाई बिर्सनुभएन। तर एकथरीले सहिद दिवसकै उपहास गर्न खोजेका छन्। १९९७ सालमा अमरत्व प्राप्त गरेका चार अमर सहिदहरू वैधानिक राजतन्त्रको पक्षपाती थिए । अमर सहिदहरूको राजा त्रिभुवनसँग राम्रो सम्पर्क थियो । इतिहास र पुरातात्विक भइसकेका कुनै पनि सालिक तथा स्मारकहरूको संरक्षण गर्ने काम सरकारको हो । अतः हामी सबैले अमर सहिदहरूको महान् त्यागको सम्मान गरौँ।

२०६३ सालपछिका सत्तासीनहरुले नेपालमा अमर शहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द र गंगालाल श्रेष्ठ जस्ता चार अमर शहीदहरुको उपहास गरेका छन् । यी महान शहीदहरुको अपमान गरेर हुल्मूलमा मरेका आफ्ना सरोकारका नातेदारहरुलाई शहीद घोषणा गर्दै दश हजार रुपैयाँमा कोचाएर शहीदहरुको त्याग तपस्याको हुर्मत लिने कोशिस गरिएको छ । शहीदको कर्वानी, समर्पण र इतिहास हुन्छ । त्यसै ल्फूकमा कोही पनि सशहीद हुन सक्तैनन र त्यसै कसैलाई चित्त बुझाउन शहीद घोषणा गर्दैमा हुलमालमा मारिएकालाई शहीद मान्न सकिदैन ।

२०६३ सालपछि त्यस्तै जो पायो त्यसैलाई दशहजार रुपैयाँ दिदै शहीद घोषणा गरिएकाले नेपालमा सच्चा शहीदहरुको कठोर कुर्वानीको अपमान गरिएको छ । त्यत्ति मात्र होइन, २०६२ मंसिरमा दिल्लीमा १२ बुँदे सहमति गरेका दलका नेताहरुले नेपालको अस्तित्व माथि खेलवाड गर्न नेपालको संविधान निर्माण गर्नु नैं विदेशीको निगरानीमा राख्न पुगेका छन् । त्यहीकारणले २०४७ सालको संविधानलाई लात मारेर अनर्थमा फाल्ने काम गरे ।

भारतीय गुप्तचर संस्था ‘रअ‘ को रोहवरमा २०६२ साल मंसिरमा दिल्लीमा सम्पन्न १२ बुँदे सहमतिको आडमा जनआन्दोलन गरियो । राजासँग संझौता गरेर २०४७ सालको संविधान अनुसार नैं आन्दोलन बिसर्जन भयो । जनआन्दोलनका नेता गिरिजाप्रसाद कोइरालालले राजदरबारमा २०६३ साल वैशाख ११ गते २०४७ सालको संविधान अनुसार राजा ज्ञानेन्द्रबाट प्रधानमंत्री पदको सपथग्रहण गरे । तर कांग्रेस र एमालेले ती सबै कुरालाई धोका दियो । कांग्रेस र एमालेले विश्वको सर्वोत्कृष्ट भनेको २०४७ सालको संविधानलाई एक पटक पनि संशोधन गर्ने कुरा पनि नउठाई विदेशीहरुको इशारामा आफैले आतंककारी घोषित गरेको माओवादीसँग हात मिलाएर आफै आगो लगाउने काम गरेर संविधानसभाबाट संविधान बनाउने अनर्गल कुरामा लागे । यसैको दुःखद परिणाम आज देशले भोग्दैछ ।

अतः देश बचाउन हामी देशभक्त नेपालीहरु जो जहाँ छौं चौतर्फी सक्रिय भएर देशद्रोहीहरुलाई लखेट्न सक्नुपर्छ । यसको लागि नेपालमा राजसंस्थालाई यथास्थानमा राखी विश्वमा एक मात्र हिन्दु अधिराज्यलाई सगौरव प्रतिष्ठा दिलाएर नेपाललाई डुब्नबाट बचाउन स्वदेश–विदेशमा रहेका देशभक्तहरु संगठित हुनुपर्ने अत्यावश्यक छ । राजसंस्था र विश्वको एक मात्र हिन्दुअधिराज्यलाई यथावत कायम गरेर सार्वभौम-नेपाल बचाऔं।-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशीको नजरमा नेपालमा एफडीको सम्भावना

पार्क थेयङ । नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपतिका

जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जना दोलखा भीमेश्वरका

चौतारा । सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।