मध्यपूर्वको युद्ध उत्तेजना मत्थर हुनु तेस्रो पक्षका लागि सबैभन्दा ठूलो कुरा हो



नारायण गाउँले ।

इरानमा समानान्तर दुई प्रकारका सेना छन् । एउटा रेगुलर सेना । यसभित्र स्थल, जल र वायुसेना गरी चार लाखभन्दा बढ़ी सदस्य छन् । यसले अन्य देशका आर्मीले झैँ देश र बोर्डरको रक्षा गर्छ । आमिर मौसभी हालका कमाण्डर हुन् ।

त्यसभन्दा माथि अर्को इस्लामिक क्रान्तिकारी सेना छ जसको काम मुख्यत: इश्लामिक शासनको रक्षा गर्नु हो । इश्लाम भन्नाले शिया ब्रान्च भन्ने बुझ्नुपर्छ । यसको पनि स्थल, जल र वायुजस्ता विभाग गरेर झन्डै एक लाख बीस हजार सदस्य छन् । यसका कमाण्डर मेजर जनरल होसेम सलामी हुन् । दुबै सेनाका परमाधिपति भने इरानका सर्वोच्च नेता अली खमैनी हुन् ।

यही इश्लामिक सेनाको एउटा सानो र महत्त्वपूर्ण ब्रान्च हो क्वाड्स फोर्स, जसको कमाण्डर थिए कासिम सुलेमानी । यो फोर्समा जम्मा १५ हजार जति सैनिक छन् र यसको मुख्य क्षेत्र सैन्य इन्टेलिजेन्स, छिमेकी देशमा इरानको प्रभाव विस्तार र विदेशमा शिया सरकार या मिलिशियालाई आर्थिक, टेक्निकल र सैन्य सहायता दिनु हो ।

सन् 1979 सम्म इरानमा शाह वंशको राजतन्त्र थियो । दोस्रो विश्वयुद्धमा इरान निष्पक्ष भए पनि इरानको जर्मनीसँग परम्परागत व्यापार र मित्रवत् सम्बन्ध थियो । इरानी तेलको ठूलो भण्डार जर्मन नियन्त्रणमा नपुगोस् भनेर बेलायत र सोभियत सङ्घको संयुक्त फौजले 1941 मा इरानमाथि कब्जा गरे । त्यहाँका राजा रेजा शाहलाई अपदस्थ गरेर उनकै छोरा मुहम्मद रेजा शाहलाई राजा बनाइयो । त्यो आक्रमणको उद्देश्य त्यस क्षेत्रमा जर्मनीविरुद्ध लड़िरहेको सोभियत सङ्घको सेनालाई निर्बाधरूपमा इरानी तेल भण्डारसम्म पहुँच र बेलायतलाई इण्डियासम्मको करिडोर कायम राख्नु थियो ।

दोस्रो विश्वयुद्धपछि मोहम्मद रेजा शाहले आफ्ना पिताले शुरू गरेका आर्थिक-सामाजिक सुधारका कार्यक्रमलाई निरन्तरता दिए । इरानले दोस्रो विश्वयुद्धताका कैयौं यहुदीहरूलाई शरण र नागरिकता समेत दियो । शिया राजतन्त्र भए पनि इरान अनेक अल्पसङ्ख्यक धर्म, कला र संस्कृतिले भरिपूर्ण सुन्दर र बलियो मुलुक थियो । शाह कालमा शुरू भएको औद्योगिकीकरण, सेनाको आधुनिकीकरण र व्यापक रूपमा स्कुल कलेजको स्थापनाले गर्दा इरान त्यस क्षेत्रमा बलियो शक्तिका रूपमा विकास भयो । त्यो बेलाको इरानको आर्थिक वृद्धिदर बेलायत, अमेरिका र फ्रान्सको भन्दा बढ़ी थियो । राजा फालिनुअघि सम्म इरान सेनाको सङ्ख्या र शक्तिका आधारमा विश्वको पाँचौं ठूलो राष्ट्र थियो ।

१९७९ मा भएको इश्लामिक क्रान्तिसँगै २५ सय वर्ष पुरानो पर्सियन राजतन्त्र पतन भयो र कट्टर इश्लामिक इरानको उदय भयो । आयतोल्ला खोमेनी सर्वोच्च नेता बनेसँगै उनले इरानको सेनामाथि अविश्वास गर्दै सम्भावित ‘कू’बाट बच्न र इश्लामिक शासनलाई बल पुर्याउन समानान्तर सेना गठन गरे । जुन आजसम्म पनि छ । आयतोल्ला खमेनीको 1989 मा मृत्यु भएपछि आजसम्म अलि खमैनी इरानको सर्वोच्च शासक छन् । राजा फालेर इरानले प्रजातन्त्र पाएन । अर्को तानाशाही पायो । रेगुलर सेना राजसंस्था हुँदाकै सेनाको निरन्तरता भएकाले अहिलेसम्म पनि त्यसमाथि शासकको पूर्ण विश्वास छैन भन्ने मानिन्छ ।

कासिम सुलेमानी रेगुलर सेनाका सेनापति थिएनन् । न उनी इश्लामिक आर्मीका सेनापति थिए । उनी इश्लामिक आर्मी अन्तर्गतको एउटा शाखाका कमाण्डर थिए । त्यहाँ उनको फोर्स जस्ता पाँचवटा ब्रान्च छन् र हरेक ब्रान्चमा उनीजस्तै कमाण्डर छन् । तर त्यो क्वाड्स फोर्सले रसिया, सिरिया, चाइना, उत्तरकोरिया, कतारजस्ता देशका सेनासँग सोझो सम्बन्ध कायम गरेर काम गर्ने हुनाले र छिमेकी देशमा प्रभाव कायम गर्ने जिम्मा पाएको हुनाले उनको उचाइ दिनप्रतिदिन बढ्दो थियो । उनले सिरियादेखि इराकसम्मका शिया मिलिशियालाई खुलेर सहयोग पुऱ्याएका थिए । मारिनुअघि पनि उनी सिरियाबाट इराकमा रहेका मिलिशियालाई सघाउन आएका थिए । अन्य सेनापति त छोडौं, इरानी राष्ट्रपति हसन रुहानीभन्दा उनलाई बढ़ी शक्तिशाली मानिन थालेको थियो । उनको जनस्तरमा बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय समर्थनले शायद केही सर्वोच्च नेतालाई असजिलो पनि भएको थियो ।

संयोग नै हुनुपर्छ, उनको मृत्युले जुन स्तरको हलचल र अशान्ति ल्याउने शङ्का थियो, त्यस्तो भएन । इरानले केही मिसाइल त आक्रमण गर्यो तर पूर्वसूचना दिएर । कोही पनि हताहत नहुने र कमभन्दा कम क्षति पुग्ने गरी भएको हमलाले जति धेरै शङ्का उब्जाएको छ त्यति नै प्रहारको पूर्व सूचना पाएर पनि अमेरिकाले एन्टीमिसाइल प्रविधिको प्रयोगै नगर्नु र भोलिपल्ट डोनाल्ड ट्रम्प यूटर्न हुनुले पनि आशङ्का थपेको छ । अन्तर्राष्ट्रिय समुदायले पनि सोचे जति कडा प्रतिक्रिया नदिनु आफैमा अचम्म लाग्दो छ । कतै एक तीरले अमेरिकी चुनाब र इरानमा खमैनीको वर्चश्वलाई निशाना बनाएको त होइन भन्ने केहीले अनुमान गरेका छन् ।

रेखीय विश्लेषणले सत्यसम्म पुग्न सकिन्न । सत्य के हो भन्ने सतही रूपमा भन्न गाह्रो छ । हामीजस्ता दुईचार पत्रिका, लेख र इतिहासका एकदुई पाना पढेर धारणा बनाउनेहरू त सत्यबाट धेरै टाढा हुन पनि सक्छौं । तर मध्यपूर्वको युद्ध उत्तेजना हाललाई मत्थर भएको जस्तो देखिन्छ, जुन हामी तेस्रो पक्षका लागि सबैभन्दा ठूलो कुरो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ