महात्मा गान्धीको नेपाल सन्दर्भ



डा. गोविन्दशरण उपाध्याय

  • भारतीय सन्त नेता महात्मा गान्धीको(मोहनदास करमचन्द गांधी)(२ अक्टूबर१८६९ – ३० जनवरी १९४८)जन्म भारतको गुजरातको पोरबन्दर नामक सहरमा एउटा शाकाहारी वैष्णव र धनि परिवारमा भएको थियो भने उनले भारत लगायत इंग्ल्यान्डमा आफ्नो अध्ययन गरेका थिए | कानून विषय अध्ययन गरेको हुँदा उनले आफ्नो ब्यबसायिक जीवन तत्कालीन दक्षिण अफ्रिकाबाट आरम्भ गरे पनितेहा कब्जा जमाएर बसेका गोराहरूले काला र गहुँगोराहरूलाई चरम विभेद गर्थे | कानून ब्यबसायी हुँदाहुँदै पनि आफै धेरै पटक विभेदको शिकार भएपछि महात्मा गान्धीले यो सहन सकेनन् |
  • भारतीयहरू गोराहरूको अधिनमा रहेकै वखत १९१५ मा उनी भारत फर्किए र गरीव तथा पिडित किशानहरूका पक्षमा वकालत गर्न थाले | तीक्ष्ण प्रतिभाशाली महात्मा गांधीले सन् १९२१ मा भारतीय स्वतन्त्रता आन्दोलनको पक्षमा सङ्घर्ष गरिरहेको भारतीय राष्ट्रीय कांग्रेसको नेतृत्व प्राप्त गरे | तेसपछि उनको सम्पूर्ण जीवन भारतीय जनताको मुक्तिको लागि समर्पित भयो | सन् १९४४ मा भारतीय स्वतन्त्रता आन्दोलनका अर्का महारथी सुभाषचन्द्र बोसले रंगुन रेडियोबाट बोल्दै महात्मा गांधीलाई “राष्ट्रपिता” भने पछि भारतीयहरूले उनलाई “राष्ट्रपिता” भनेर सम्बोधन गर्न थाले | उनी भारत स्वतन्त्र भएको एक वर्षपछि महात्मा गांधीले मुस्लिमहरूप्रति नरम नीति लिएको जसका कारण मुसलमानहरूले हिन्दुहरूको आमहत्या गरेको” आरोप लगाउंदै नाथुराम गोडसे नामक व्यक्तिले प्रार्थनास्थल मै उनको हत्या गरेका थिए |
  • महात्मा गांधीको समयमा विश्वभरी निकै चर्चित नेताहरू र राजनैतिक परिवर्तनहरू भएका थिए | रूसमा स्टालिनको नेतृत्वमा मार्क्सले प्रतिपादन गरेको साम्यवादमा आधारित राजनैतिक ब्यबस्थाको उदय भएर विस्तार भएको थियो भने जर्मनी र इटालीमा घोर राष्ट्रवादी हिटलर र मुसलिनोको उदय र अन्त्य भएको थियो | महात्मा गांधीले हिटलर, मुसोलिनी वा कार्ल मार्क्सको हिंसामा आधारित राजनैतिक परिवर्तनको सिद्धान्तलाई अस्वीकार गर्दै “अहिंसा, सत्यग्रह, असहयोगतथा उपवासआदिको” प्रयोग गरेर नै राजनैतिक अधिकार प्राप्त गर्न सकिने सिद्धान्त स्थापित गरे | यो सबै कुरा उनले “उपनिषद्, श्रीमद्भगवत-गीता, जैन दर्शन तथा बाइबलबाट प्राप्त गरेको” कुरा आफ्नो जीवनीमा उल्लेख गरेका छन् |
  • युरोपमा साम्यवाद, फासिवादमा आधारित सत्ताप्राप्ति र स्वतन्त्रताप्राप्तिको चरमहिंसामय आन्दोलनहरू सफल हुँदैगर्दा भारतीय जनता पनि साम्यवादबाट निकै प्रभावित भएका थिए | चन्द्र शेखर आजाद तथा भगतसिंहजस्ता केही युवा नेताहरू “हिंसा गरेर नै स्वतन्त्रता प्राप्त हुने” बाटोमा अगाडी बढिरहेका थिए भने महात्मा गांधीले उपरोक्त हिंसाप्रधानवाटो दृढतापूर्वक अस्वीकार गर्दै जनतालाई अहिंसात्मक तवरले गोराहरू विरुद्ध र आफ्नै समाजमा रहेका छुवाछुतजात ब्यबहारिक रूपमै सङ्घर्ष गर्न स्वयंले “महात्मा”को“त्यागमय” जीवन शैली अङ्गिकार गरे | एकातिर जनतालाई “स्वदेश उनीहरूको जन्मसिद्ध अधिकार भएको भन्दै “अहिंसात्मक”शैलीमा अंग्रेज विरुद्ध सङ्घर्ष गर्न अभिप्रेरित गरे भने अर्कोतिर जनतालाई स्वावलम्बी बनाउन चर्खाजस्तो आन्दोलनका माध्यमबाट ग्रामोद्योगहरू विस्तार गरेर जनताको आर्थिकस्तर उकास्ने प्रयत्न गरे |
  • सन् १९१५ मा महात्मा गांधी भारत फर्केर आउँदा भारत बृटिश इण्डिया कम्पनीको निजी सम्पत्ति सरह थियो भने नेपाल, भूटान र सिक्किम बाहेक सम्पूर्ण भारतवर्ष अनेकौं स-साना राष्ट्रमा विभाजित थियो | तत्कालीन भारतीय राष्ट्रहरूले अंग्रेजहरूको संरक्षणमा “राष्ट्र-जागिर”को उपयोग र उपभोग गर्थे | अंग्रेजहरूको गुलाम नभए पनि तत्कालीन नेपाल राणाहरूको जहानीया खटनपटनमा थियो | जनताहरू एकप्रकारले “बधुंवा-मजदुर”सरहथिए | विश्वबाट नेपालको कुनै प्रकारको सम्बन्ध थिएन | राणाहरूले अंग्रेजहरूलाई रिझाएर नेपाललाई भोगिरहेका थिए | राणाका छोराछोरी र हुनेखानेकाबालबालिकाहरू भारतका विभिन्न ठाउंमा गएर पढ्थे भने ब्राह्मणवर्गहरू काशी, मथुरा, अयोध्या, कलकत्ता र पटनाआदि ठाउंमा गएर अध्ययन/अध्यापन गर्थे तर तेस बखत धेरैका लागि काशी गन्तब्य थियो |
  • नेपाली समाज संसारबाट काटिएको थियो | भारत पढ्न गएका युवाहरूमा भारतीय स्वतन्त्रता आन्दोलनले तीब्र प्रभाव पारेको थियो | मैले सुनेअनुसार नेपालका पूर्वप्रधानमन्त्रीद्वय विश्वेश्वरप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई त भारतीय स्वतन्त्रता सेनानी नै थिए भने एस्ता अनेकौं युवाहरू अरू पनि थिए | निश्चयनै भारतीय स्वत्रन्त्रता आन्दोलनले नेपाली युवाहरूमा नेपालमा पनि प्रजातन्त्रको भोक जगाएको हो | एसै सेरोफेरोमा महात्मा गांधीको जीवनशैली, राजनैतिक स्वत्रन्त्रता प्राप्तिका लागि उनले अपनाएका अहिंसा, असहयोग, सत्याग्रहजस्ता विधिहरूले धेरै नेपालीहरू विद्यार्थीहरू प्रभावित भएका थिए | ती मध्ये विश्वेश्वरप्रसाद, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई पनि थिए भने काठमाडौँ उपत्यकाका रैथाने नेवारतुलसी मेहेर श्रेष्ठ (१९५३-२०४५)ले महात्मा गांधीको प्रत्यक्ष संगत गरेका थिए | उनले महात्मा गांधीको साभरमति आश्रममा निवास गरेर “सीप सिक्दै” गान्धीका गुणहरू अङ्गिकार गरेका नेपाल फर्किंदा महात्मा गांधी आफैले “दुई बन्डल कपास, केही चर्खा, तान र रू. ८००/- महात्मा गान्धीले नगद दिएका थिए | ( तुलसी मेहेर स्मृति ग्रन्थ, पृ. १५) नेपाल फर्केपछि उनले “श्रीचन्द्रकामधेनु चर्खा प्रचारक महागुठी”स्थापना गरेर नेपाली जनतालाई आत्मनिर्भर बनाउने प्रयत्न गरेका थिए भने यिनको कार्यलाई भारतीय प्रधानमन्त्री जवाहर नेहरूले पनि सहयोग गरेका थिए |
  • तेसो त नेपालमा महात्मा गांधीको आदर्शको सम्मान गर्नेहरू धेरै थिए तर कविशिरोमणि लेखनाथ पौड्याल (१८८५-१९६६) महाकवि लक्ष्मीप्रसाददेवकोटा (१९०९-१९५९) युगकविसिद्धिचरण श्रेष्ठ (१९१३-१९९२) र नाट्यसम्राट बालकृष्ण सम (१९०३-१९८१) ले कृतिहरू नै लेखेर महात्मा गांधीलाई श्रद्धाञ्जली दिएका छन् | महात्मा गांधीको हत्याबाट आहत भएका कविशिरोमणि लेखनाथले “अमरज्योतिको सत्यस्मृति” नामक लघु कविता ग्रन्थ नै लेखेका छन् | तेसमा उनले गांधीलाई “हे मान्य मानव, मानवपनाकोयै हो मुटु नै वास्तव” (सत्यस्मृति – ४४) भनेर गांधीको सम्झना गरेका छन् | यो लघुकृतिको हिन्दी र अंग्रेजी अनुवाद पनि उपलब्ध छ | महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि गान्धीको हत्याबाट निकै आहत भएर “बापू” नाम गरेको ३३ बटा सोनेट भएको कविता नै लेखेका छन् | तेसमा महकविले महात्मा गांधीलाई ““उनी दर्शनशास्त्रका हुन् मुख्यालय, विश्वसिंहासनका जीवित धर्म” भनेर अभिवादन गरेका छन् (बापू-१२) | तेसैगरी युगकवि सिद्धिचरण श्रेष्ठलेमहात्मा गांधीलाई श्रद्धाञ्जली दिंदै “गांधी” नामक कविता नै प्रकाशित गरेका थिए | मैले उनले महात्मा गांधीको सम्झना गर्दै लेखेका तीनबटा कविताहरू नेपालभारत मैत्री पुस्तकालयमा “कुनै कविता ग्रन्थ”मा पढेको छु | पुस्तकको नाम भने अहिले स्मरण रहेन | तेसैगरी नाट्य सम्राटले पनि महात्मा गांधीको अहिंसाको प्रसंग कोट्याउँएका छन् (नियमित आकस्मिकता पृ. २००-२०१) र उनले नियमित आकस्मिकतामा सेनामा भर्ति गर्न लायक एकमात्र व्यक्ति “महात्मा गांधी” ((नियमित आकस्मिकता पृ. १९७) भनेर उहाँको अहिंसा दर्शनलाई सर्वश्रेष्ठ सम्मान प्रदान गरेका छन् |
  • माथि उल्लेखित कवि, लेखकहरू नेपालीभाषा जगतका सूर्य नै हुन् | कविशिरोमणि,महाकवि, नाट्यसम्राट तथा युगकविले महात्मा गांधीलाई “विषेशमहत्व दिनु”ले महात्मा गांधीका दर्शनको नेपाली समाजमातत्कालीन अवस्थामा रहेको “अपूर्व-प्रभाव”लाई प्रष्ट पार्छ | श्री ३ चन्द्रशमसेरले खड्गनिसानी दिएर गुठी स्थापनाको स्वीकृति दिनुमा पनि चन्द्र शमसेर समेत महात्मा गांधीको आदर गर्थे भन्ने प्रमाणित गर्छ भने विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण समशेरजस्ता प्रजातन्त्रका पक्षधरहरूले महात्मा गांधीबाट सिकेकै हुन् भन्न मिल्छ | तेसपछि कति साहित्यकार, लेखक, राजनीतिज्ञ तथा अरूले महात्मा गांधीलाई सम्झे, उनको अनुसरण वा अनुकरण गरे, उनको आलोचना गरे र तिनको दर्शन तथा जीवन दर्शनले नेपाली राजनीति, संस्कृति तथा जीवनशैलीलाई कुनतहसम्म प्रभावित तुल्यायो ? यी विषय मेहनतपूर्वक अनुसन्धान गर्नुपर्छ | महात्मा गांधी भारतीय नागरिक भए पनि आज उनका विचार, जीवन दर्शन तथा आचरण विश्वब्यापी बनेको छ | आलोचना गरेर भए पनि मान्छेहरू गांधीलाई सम्झन बाध्य छन् |
  • आज महात्मा गांधीको १५० सौं जन्मदिवस र विश्वदर्शनशास्त्र दिवसको सन्दर्भ पारेर हामीले महात्मा गांधीलाई श्रद्धाञ्जली दिने अवसर जुटेको छ | यो वर्ष (२०१९) मा विश्वभरिका दार्शनिकहरूले“सामाजिक रुपान्तरणको वैश्विक समस्या समाधानका लागि क्षेत्रीय योगदान” विषयमा छलफल गरिरहेका छन् | उपरोक्तविषयमा गरिने वहसले स्थानीय, क्षेत्रीयतहमा फैलिदै गरेको असहिष्णु, अशान्ति, द्वन्द तथा भेदभावहरूको बौद्धिक समाधान खोज्नु र विभिन्न कारणले विस्थापित भैरहेको जनसमुदायप्रति बढी जिम्मेदारीपूर्ण ब्यबहारलाई प्रोत्साहित गर्नु रहेको छ | हामी सबैलाई थाहा छ, नेपाल पनि लामो द्वन्दपछि शान्तिमा फर्केको छ | भारत पनि आफ्नो द्रुततर विकासमा अगाडी बढिनै रहेको छ | तर विश्वको धेरै ठाउँ अशान्त छ | एस्तो अशान्ति केवल महात्मा गांधीको “अहिंसा” तथा“सत्यग्रह” अङ्गिकार गर्दै“सहृदयता”को सम्वन्ध विस्तार गरेर मात्र प्राप्त हुन सक्छ|
  • आधुनिक राज्यब्यबस्थाले खडा गरेका सीमानाहरू बाहेक नेपाल र भारतमा केही पार्थक्य छैन | एउटा सार्वभौम राष्ट्रका रूपमा नेपाल र भारत फरक छन् तर संस्कृति, धर्म, ब्यबस्थाका विषयमा अलग हुनै सक्दैन | महात्मा गांधीले अपनाएको बाटो र जीवन दर्शनले नेपाल र भारतका जनताहरू बीच अझैं गाढा सम्वन्ध जोड्ने छ | नेपाली महात्मा गांधी“तुलसी मेहेर” रमहात्मा गांधीलाई माया गर्ने असंख्य नेपाली विद्वान र सर्वसाधारणको गांधीप्रतिको सम्मान बुझेपछि भारतीयहरूको नेपालीसंग अझैं सम्वन्ध गाढा हुनेछ | महात्मा गांधीका चेला तुलसी मेहेरलाई गांधीवादको प्रचारप्रसार गर्न सम्भवत: पहिलो आधिकारिक सामाजिक संस्था दर्ता गर्न आदेश दिने श्री ३ चन्द्र शमसेरले नै उद्घाटन गरेको एस ऐतिहासिक त्रिचन्द्र क्याम्पसको यो कार्यक्रम दूई देशको सम्वन्धलाई अझैं बलियो बनाउने निश्चित छ |
  • अन्त्यमा,तत्कालीन राजा श्री ५ त्रिभुवनले “महात्मा गांधी एक महान पुरुष हुनुहुन्छ भन्ने कुरा विश्वविख्यात छ | उहाँको वयान गरेर साध्य छैन | अहिंसा, सत्यमा रहनु, जनसेवा गर्नु उहाँका मुख्य सिद्धान्त” रराजा महेन्द्रले “गांधीजीले सत्य, न्याय र समाजकल्याणको क्षेत्रमा जुन तपस्या देखाउनुभएको त्यो त इतिहासको अंग भैसकेको छ” (तुलसी मेहेर स्मृतिग्रन्थ पृ. ७६३-७६४)  महात्मा गांधीको प्रशंसा गर्दै बोलेकोले स्पष्ट हुन्छ कि नेपालका राजा देखि रंकसम्म महात्मा गांधीप्रति अपार श्रद्धा थियो र रहिरहने छ | नेपाललाई निकटबाट नियालिरहेका महात्मा गांधीले भने नेपालको राजनैतिक अवस्था र ब्यबस्थाका विषयमा “केही लेखेको” मैले भेटेको छैन | सभवत: महात्मा गांधी नबोल्नुको कारण तुलसी मेहेरको सुरक्षा पनि हुनसक्छ र राणाहरूले उनलाई सहयोग गरेको पनि हुन सक्छ|

 

सन्दर्भ ग्रन्थ सूचि

  • पौड्याल, लेखनाथ (२०१९) अमरज्योतिको सत्यस्मृति, महामना मालवीय मिसन, थापाथली काठमाडौँ |
  • पौड्याल, लेखनाथ, अमरज्योति की सत्यस्मृति, भारत नेपाल मैत्रीसंघ, काठमाडौँ |
  • देवकोटा, लक्ष्मीप्रसाद(१९९१) बापू(अंग्रेजी कविता), इन्टर नेशनल फोरम, काठमाडौँ
  • कोइराला जीवनचन्द्र (सम्पदक २०६१ वि.स.) तुलसी मेहेर श्रेष्ठ स्मृतिग्रन्थ, नेचगातुस, काठमाडौँ
  • सम बालकृष्ण, (२०५८ सातौं प्र.) नियमित आकस्मिकता, साझा प्रकाशन, काठमाडौँ
  • गांधी, महात्मा(२०७३ वि.स), सत्यको खोज/आत्मकथा, शिवालिक प्रकाशन, काठमाडौँ
  • आचार्य, जयराज, नेपालको सन्दर्भमा सिद्धिचरण श्रेष्ठ http://lib.icimod.org/record/10913/files/6723.pdf
  • सिन्हा, विणा (सम्पादक, २०७६ वि.स) द पब्लिक, हिन्दी मासिक पत्रिका, वर्ष-९, अंक –६, काठमाडौँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोनाको नक्कली प्रोपोगान्डालाई विदेशी हस्तक्षेपको आधार बनाईंदै

  भरत दहाल । कोरोना महामारी षडयन्त्र बिल गेट्स लगायतका विश्व लुटेरा माफियाहरुको

कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीलाई निरन्तर काम गर्न अनुरोध

बेल्जियममा कोरोना भाइरसको सङ्क्रमण भए पनि लक्षण नभएका स्वास्थ्यकर्मीलाई निरन्तर काम गरिरहन अनुरोध

विश्वमा १ करोड ४ लाखबढी कोरोनाका सक्रिय संक्रमित,७९ हजारको अवस्था गम्भीर

काठमाडौँ । पछिल्लो समय कोरोना भाईरस संक्रमणको दर बढेसंगै विश्वभर सक्रिय संक्रमितको संख्या

नेपालमा १,७४१ कोरोना संक्रमित थपिए,चार हजार पाँच जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ७४१ जनामा कोरोना सङ्क्रमण