‘संस्कृति भनेको माटोको बास्ना हो’
डा. युवराज संग्रौला
पुरातनपन्थ बिस्तारै परिबर्तनबाट विस्थापित हुन्छ । दमनात्मक स्थायित्वले –अंग्रेजीमा रिग्रेसिभ स्ट्याटसको) ले मानिसको बौद्धिक वा सिर्जनात्मक उन्नयनलाई रोक्छ । त्यसैले संस्कृतिमा नयाँपन आउनु पर्छ । तर अरुको संस्कृति प्रत्यारोपण परिवर्तन होइन विनाश हो ।
साम्राज्यवादको मूल प्रवृत्ति व्यापारिक नै हुन्छ, र त्यसले अधिनायकवादको स्थापना गर्छ । त्यस उद्देश्यका लागि त्यसले रैथाने जनतालाई विभाजित गर्छ र उसको संस्कृति थोपर्छ । अफ्रिकामा बेल्जियम राजा लियोपोल्डले कङ्गो कब्जा गर्यो र रबर उत्पादन शुरु गर्यो । मानिसहरुलाई क्याम्पमा राखेर बाँधा मजदूर बनायो ।
तोकिएको कोटा उत्पादन नगर्नेका हात काट्थ्यो । तर मिसिनरीहरु गएर स्कुल र चर्च निर्माण गर्थे । पीडितहरु त्यहाँ गएपछि, यो बर्बरताबाट जोगिन्थे । मिसिनरी भन्थे, भगवानले तिमीलाई जोगाउन यो बनाएको हो । तब मानिस आफ्नो धर्म त्यागेर क्रिस्चियन बन्थे ।
यो संस्कृतिको उन्नयन होइन, विनाश हो । संस्कृति मानिसको नैतिकतामा आधारित एकताको आधारशीला हो । हिजो युरोपियनहरु उपनिवेश बनाएर साम्राज्यवाद लाद्थे । आज डिभी र ग्रीनकार्डबाट । युरोपियन अमेरिकी हुनु सभ्य हुनु हो भन्ने १८ र १९ औं शताब्दीको कथन अहिले पनि यथावत छ । जहाँ जहाँ सभ्य बनाउन युरोपियन गए, त्यहाँ आजपनि गरिबी छ ।
जो जो डिभी र ग्रीनकार्ड लिएर विदेश गए ती आज त्यहाँ गरीब छन् । उनीहरुका सन्तान नेपाली वा मातृभाषा बोल्दैनन् । विदेशी भए । तर उनीहरुलाई रुपान्तरण गर्ने मालिकले उनीहरुलाई आफूजस्तो कहिले पनि ठानेन ।
१६ औं शताब्दीमा प्लान्टेसनलाई लगेका अफ्रिकन अमेरिका बसेको पाँच शताब्दी भयो, उनीहरु अफ्रिकन अमेरिकन छन्, अमेरिकन भएनन् । बर्नी सेन्डर्सको बाबु अमेरिका आएका थिए । बर्नी सेन्डर्स अमेरिकन भए।
मानिसको उन्नयन उसकै माटोमा भयो भने उसले अरुको सम्मान पाउँछ । मलाई नेपालमा बस्न मनलाग्छ, किनभने, शरीरमा माटोको गन्ध आउँछ । यस अर्थमा संस्कृति भनेको माटोको बास्ना हो ।