‘जो जो हास्नु भो, ठिक छ तर त्यो हसाइमा एउटा चाड व्यङ्ग्यको गाईजात्रा बन्दैथियो’
डा. युवराज संग्रौला।
राज्य र समाज फरक कुरा हुन् । राज्य औपचारिक हुन्छ, समाज अनौपचारिक । राज्य मुलतः नियम र कानुनलाई मापदन्ड मानेर चल्छ, समाज नैतिकतालाई । राज्य राजनीति संचालन गर्छ र राजनीतिबाट निर्देशित हुन्छ । समाम मुलतः संस्कृतिबाट निर्देशित हुन्छ । जब समाजमा नैतिकताको उन्मूलन हुन्छ, तब संस्कृतिको बिनाश हुन्छ।
१. अहिलेको नेपाली समाजको यथार्थता हो, यो । सामाजिक नैतिकता वा संस्कृतिको ताकत वा क्षमताको आंकलन, त्यस समाजका स्वतन्त्र व्यवसायिक संस्थाहरुको हैसियत र उनीहरु प्रतिको सम्मानको मापदण्दका आधारमा गरिन्छ । तर यस्ता संस्थाको हालत नेपालमा हेरौं ।
कानुन व्यसायीको एउटा ठूलो हिस्सा आफ्नो फाइदाका लागि राज्य र समाज सोत्तर भए होस् भन्ने ठान्छ । भट्टीमा बेसेर रक्सी र अलिकति पैसामा जोसुकैको इज्जत र अस्मिता ध्वस्त पार्ने पत्रकारको सख्या पनि सानो छैन। हामी सधैं राजनीति बिग्रिएको देख्छौं। तर हामीले समाजलाई जोगाउने यी व्यबसायमा रोगको जटिल सक्रमण भएको देखेका छौं ?
२. किन समाजको नैतिकता र संस्कृतिको जगका रुपमा रहेका स्वतन्त्रताको पालनपोषण गर्ने वकालत र सूचनाको भरणपोषण गर्ने पत्रकारिताको स्तर यति धेरै नस्ट भयो ? अब त खोजी गर्ने बेला भयो होलानी ?
अल्पज्ञान डरलाग्दो बिष हो समाजको उन्नयनमा, किनकी समाजका अपरिहार्य संस्थामा अल्पज्ञानी मानिसले डेरा जमाए, भने समाजलाई उनीहरुले भैसीको अहाल जस्तै बनाउँछन् । अब गाली आहाललाई गर्ने होकि आफैंले पानी खाने र शरीर भिजाउने पानीमा पिसाब गर्ने भैंसीलाई ? सोच्ने बेला आइसकेको छ।
३. औपचारिक संस्थामा बस्नेलाई आलोचना गर्न पाइन्छ । व्यङ्ग्य गर्न पनि पाइन्छ । तर सांस्कृतिक मोहत्सव, देउसीलाई गाईजात्रामा परिवर्तन गर्न पनि पाइन्छ ? प्रधानमन्त्रीलाई मीत भन्न पनि पाइन्छ ? प्रधानमन्त्रीकी पत्नी र राज्यको पदमा बसेकी मानिस होइन, उनलाई पनि व्यङ्ग्य गर्न पाइन्छ ?
४. सिस्नोपानीमा जे जे कुराहरु उठे, त्यहाँ उठेका सरकारका गल्ती कमजोरी सही हुन् । तर देउसी त आशीर्वाद दिने चाड हो, व्यङ्ग्यबाट आलोचना गर्ने र हसाउने गाइजात्रा हो र ?त्यसैले समाजले मलामी जाँदा र जन्ती जाँदाका संस्कृतिका अलग अलग नैतिक धरातल बनाएको छ । सिस्नुपानी र देउसी बिरोधाभाष हुन् । देउसी संस्कृति हो, यसलाई बटारेर गाईजात्रा बनाइयो भने, हाम्रो अर्को एउटा चाड र संस्कृति मर्छ ।
५. हामी बनाउने चाहनामा बिगारी त राखेका छैनौ ? सानामा हामी कुकुर राम्रो र सफा पार्न, सावन दलि दलि नुहाइदिन्थ्यौं । केही समय पछि कुकुर मथ्र्यो । उसलाई निमोनिया हुँदोरहेछ । हाम्रो नियत त भलाइ थियो । तर आफैंले माया गरेका कुकुर मरे ।
त्यसैले सरकारको आलोचना खुलेर गर्नुपर्छ । तर दुधमा नुन हालेर घोटियो भने त्यो खुवा बन्दैन । खिरमा नुन हालियो भने खिर बन्दैन । अचारमा चिनी हालियो भने आचार बन्दैन ।
सरकारका विरुद्ध आलोचना गर्नुहोस्, हरेक दिन व्यङ्ग्य गर्नुहोस्, तर मेरो तिहारको देउसीलाई देउसी रहन दिनुहोस् । मलाई थाहा छैन, बलिराजा को हुन् । तर बलिराजा भन्दा देउसीको मजा आउँछ । किनभने यो संस्कृति हो, चाड हो ।
जो जो हास्नु भो, ठिक छ । तर त्यो हसाइमा एउटा चाड व्यङ्ग्यको गाईजात्रा बन्दैथियो । त्यसैले मलाई हास उठेन । अब यो त सरकारको मान्छे रहेछ भनेर लेख्छन् तल । म जनताको सहयोगी हुँ, गरिबको सहयोगी हुँ । बस, म गलत जसले गरे पनि गलत हो भन्न आँट गर्ने मानिस हुँ। के हो होला वकिल र पत्रकारको भूमिका समाजको संस्कृति र नैतिकता जोगाउने ?