‘प्यारा मेरा देशवासी, आफ्नो मौलिकतातिर फर्क, हामी सक्षम छौं’
रानीसंग सति !!एउटा पुरानो रुख थियो | त्यसै रुखको एउटा डालोमा दुईको निवास थियो | ती दुवै समान हैसियतका थिए | अनादिकालदेखि असल मित्र थिए | एक दिन एउटा मित्रलाई संसार हेर्न मन लाग्यो | अर्कोले “न जाउँ” भन्दा भन्दै भूर्र रुखबाट उड्यो | अनन्त आकाशको गहिराईमा विलायो |
बाटोमा एउटा साथी भेटियो | त्यो साथीले अर्को साथी चिनायो | यसरी धेरै साथीहरू बने | साथीहरूपछि शत्रु पनि बने | उसलाई संसार निकै झिलिमिली लाग्न थाल्यो | अनि, त्यही जीवन नै उसको लागि वास्तविकता बन्यो |
उसले आफ्नो साथी र रुख विर्सियो | त्यस देशको राजाको मृत्यु भयो | संयोग नै भन्नुपर्छ, ऊ त्यस देशको राजा चुनियो | राजाका रूपमा उसले धेरै सुख भोग्यो, रमाइलो गर्यो | उसले आफुलाईनिकै महत्व दियो |
उसले आफुलाई सबैभन्दा ठूलो विद्वान, महान्, सम्राटका रुपमा घोषणा गरायो | आफ्नो जय जयकार नगर्नेहरू जति उसका लागि शत्रु हुन्थे | एकदिन अचानक उसकी महारानीको मृत्यु भयो |
देशको नियमअनुसार उसले जेठी रानीसंग “सति” जानु पर्ने भयो | जेठी रानीसंगै चितामा बल्नु पर्ने भयो | उसंग विकल्प थिएन | गाजाबाजा सहित ऊ चितामा वस्यो | जव चिताको आगोले उसको शरीर तातो भयो, तव उसलाई आफ्नो साथी, रूख र उसको सल्लाह स्मरण आयो | ऊ निकै पछुतायो, रोयो, चिच्यायो | तर त्यहाँ तेसका कोही पनि हितैषी थिएनन् |
सबैभन्दा प्रिय छोराछोरी, पत्नी, आफन्त, मन्त्रीहरू जतिसक्दो चांढो उ पोलिएको देख्न चाहन्थे | अन्तत: चिताको आगो दन्कियो | उसको शरीरले तातो सहन सक्ने स्थिति रहेन | ऊ भाग्नका लागि चिताबाट हाम फाल्न चाहन्थ्यो तर मान्छे रोकिरहेका थिए |
अन्तत: उ चिताबाट हाम फाल्न सफल भयो किनभने उसको पुरानो साथीले उसको हात समातेर तानेको थियो | ——– प्यारा मेरा देशवासी, आफ्नो मौलिकतातिर फर्क | हामी सक्षम छौं | विदेशीहरूले बुनिदिएको माकुराको जालोबाट वाहिर निस्कने तयारी गर |
तिम्रा अनन्त मित्रहरू तिम्रो हात समाउन तयार छौँ | हामी जालो काट्ने प्रयत्नशील छौँ, वस तिम्रो सहकार्यको खाँचो छ | स्वस्ति-अस्तु