एक हुल सेता परेवाहरू
एक हुल सेता परेवाहरू
बुद्ध-मूर्ति अगाडि उभिएर
लेख्दा-लेख्दैको कविता छाडेर
कहाँ जान्छन् एक हुल सेता परेवाहरू ?
प्रेम-दिवसकै बिहान
धागोले बेरिएको खबरपत्र छाडेर
कुन त्रिवेणी खोज्दै हिड्ँछन् एक हुल सेता परेवाहरू ?
हातमा लिएर डढेको विवेक
म दुख्छु समयका घाउहरू,
देब्रे खल्तीमा सजाएर टेढो हस्ताक्षर
म डुब्छु गोधूलीको बेहोस धून
हर रात,
प्राथनाको एक तमास कोरससँगै
कक्रेर निदाउँछ सहर
तर हावाको वेगसँग नमिल्ने
कुनै तन्नेरी युवराजको सपनाझैं
ओझेल आदर्शसँगै होली खेलेर हर साँझ
किन अबेर घर फर्कन्छन् एक हुल सेता परेवाहरू ?
भरियाको हातबाटै चुडाएर चारो हो कि देशप्रेम
कहाँ भाग्छन् एक हुल सेता परेवाहरू ?
संस्कारको बाडुलीझैं
उज्यालाको चिहानमा औडाहाको मानचित्र कोरल्ने मांसाहारी प्रश्नहरू
किन सधैं घोकिरहन्छन् उदेकलाग्दो युगको कथान्त ?
धमिलो ऐना अघिल्तिर उभिएर
किन सधैं खोजिरहन्छन्
समयको घेराभित्र मलिन आफ्नै अनुहारहरू ?
चिसो बताससँगै हर रात
रूखबाट झरिरहेका
यी नाम/बेनाम फूलहरू
अवतरणको नाममा
झरिरहेका हुन् या हुन् विद्रोह बोलिरहेका ?
के पश्चिमतिर हतास भाग्दै गरेका परेवाहरू
सुराकीहरू नै हुन् ?
व्यर्थै मुस्काएझैं
नांगा यी हिमालहरू
पोखिएझैं अनिश्चयको दैलामा
घामका झुल्काहरू
चुपचाप चुपचाप छट्पटाइरहेका साँझका रङ्गहरू
जहाँ
पीडाका प्रतिच्छाया बाँच्दछन् विचारहरूका याम
जुन नेपथ्यमा हराउँछ एकाएक हाँसोको भाषा
र मुर्छा पर्छन् सबै संवेदनाहरू
त्यही रङ्गमञ्चमा
आँसुले ओसिलो रूमालबाट
निस्कन्छन् कि निस्कदैनन् एक हुल सेता परेवाहरू ?
ए मेरो देश,
कविता लेख्दा-लेख्दैको कलमको चेतनाले
भेट्छ कि भेट्दैन कहिल्यै विवेको मसी
र
मैले जस्तै गरि हर रात
शान्तिको सपना देख्छन् कि देख्छन् कि देख्दैनन् एक हुल सेता परेवाहरू ?
स्मिता श्रेष्ठ