केरुङ -लुम्बिनी रेलमार्ग हेर्ने नेपालीको चाहना चीनले पूरा गर्ने राष्ट्रपति भण्डारीको विश्वास



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताएकी छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार साँझ आयोजित राजकीय भोजमा उनले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीको यो चाहना छिट्टै पूरा हुने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले गर्नुभएको सम्बोधनको पूर्ण विवरण :

“महामहिमज्यू,

निकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिनफिङ तथा चिनियाँ प्रतिनिधिमण्डलका विशिष्ट सदस्यहरुलाई यस राजकीय भोजमा न्यानो स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ ।

यो एउटा सुखद संयोग नै हो, महामहिम राष्ट्रपतिज्यूको राजकीय भ्रमण जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वर्षगाँठको शुभअवसरमा भइरहेको छ । यस अवसरमा म महामहिम राष्ट्रपतिज्यू र चिनियाँ प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यहरु एवं सबै चिनियाँ मित्रहरुलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु ।

साथै शताब्दीका दुई महान् लक्ष्य प्राप्त गर्न मित्रराष्ट्र चीनलाई पूर्ण सफलता मिलोस् भन्ने हाम्रो शुभकामना छ ।

महामहिमको सक्षम नेतृत्वमा चीनले युगान्तकारी पहलहरु अघि सारेको छ । प्रगतिशील सुधार योजना, भ्रष्टाचारविरोधी अभियान तथा सुशासनको प्रभावकारी कार्यान्वयन महामहिमको राष्ट्रिय पुनर्जागरणसहितको चिनियाँ सपनाका महत्वपूर्ण आयामहरु हुन् । विश्वका १५० भन्दा बढी राष्ट्रहरु तथा दर्जनौँ सङ्घसंस्थाहरु बेल्ट एण्ड रोड इनिसिएटिभको पक्ष बनेका छन् ।

नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादमा सी चिनफिङ विचारधारा जनता केन्द्रित विकासको एक महत्वपूर्ण दर्शन बनेको छ । चीनको विकासमा चिनियाँ नेताको सक्षम र दूरदर्शी नेतृत्व एवं परिश्रमी चिनियाँ जनताको साथ महत्वपूर्ण रहेको छ भन्ने मलाई लागेको छ ।

महामहिमज्यू,

गत अप्रिलमा मैले गरेको चीनको राजकीय भ्रमणको सम्झना मलाई ताजै छ । महामहिमको सुन्दर गृहनगर तथा रेशममार्गको उद्गमस्थल सियान शहरबाट शुरु भएको मेरो भ्रमण अवधिभर मप्रति दर्शाइएको न्यानो स्वागत र आतिथ्यताका लागि म कृतज्ञ छु ।

उक्त भ्रमणका अवसरमा महामहिमसँग भएका भेटवार्ताबाट नेपाल–चीन सम्बन्धलाई थप ऊर्जा प्रदान गर्न मद्दत पुगेको मैले विश्वास लिएको छु । भ्रमणका अवसरमा हस्ताक्षर भएका महत्वपूर्ण दस्तावेजमध्ये पारवहन तथा यतायात सम्झौताको प्रोटोकलले चीनका तीन वटा भूबन्दरगाह तथा चार वटा सामुद्रिक बन्दरगाहसम्म नेपालको पहुँच स्थापित गरेको छ ।

अन्तर्रा्ष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरममा मेरो सहभागिता तथा सम्बोधनले नेपालको विकासको आकाङ्क्षालाई मुखरित गर्न मद्दत पुगेको मैले ठानेको छु ।

उक्त फोरमको लिडर्स राउण्ड टेबलको समापनमा जारी भएको संयुक्त विज्ञप्तिमा नेपाल–चीन, हिमालय वारपार बहुपक्षीय कनेक्टिभिटी सञ्जाल तथा नेपाल चीन सीमापार रेलमार्ग समावेश भएका छन् । यसबाट भूपरिवेष्ठित नेपालका लागि चीनसँगको कनेक्टिभिटी सञ्जाल विस्तारमा ठूलो मद्दत पुग्नेछ ।

यस सन्दर्भमा म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सन् २०१६ र २०१८ मा सम्पन्न चीनको भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ दिशा दिन पु¥याएको योगदानको स्मरण गर्दछु ।

महामहिमज्यू,

नेपाल र जनवादी गणतन्त्र चीन हिमाल तथा नदीहरुद्वारा जोडिएका छन् । हामीबीच शदियौँदेखि सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको छ । चिनियाँ भिक्षु फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले जनस्तरको सम्बन्ध एवं दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन ठूलो योगदान दिएका छन् ।

पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्यारहित छ । हाम्रो सम्बन्ध सागर जस्तै गहिरो र सगरमाथा जस्तै उँचो छ । पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावनाहरु छन् ।

महामहिमज्यू,

नेपालको लुम्बिनी गौतमबुद्धको जन्मस्थल मात्र नभएर बौद्धदर्शनको उद्गमस्थल पनि हो । बुद्धका शाश्वत उपदेशहरुले मानव जातिलाई शान्ति, सहिष्णुता र सह–अस्तित्वको मार्गदर्शन गरेका छन् । तसर्थ लुम्बिनीलाई विश्वशान्तिको केन्द्र बनाउने हाम्रो प्रयासमा मित्रराष्ट्र चीनको महत्वपूर्ण सहयोगको अपेक्षा गरेका छौँ ।

चीनले सदैव नेपालको सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रताको सम्मान गर्नाका साथै नेपाली जनताले छनोट गरेको विकासको पथलाई समर्थन गर्दै आएको छ । नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छ ।

नेपाली भूमि चीनको हितविरुद्ध हुने कुनै पनि प्रकारका गतिविधिहरुका लागि प्रयोग हुन नदिने हाम्रो प्रतिबद्धतालाई व्यवहारमा उतार्न हामीले सबै प्रकारका ठोस उपायहरु अवलम्बन गर्दै आएका छौँ ।

सीमावारपार कनेक्टिभिटीका लागि पूर्वाधार सुधार गर्नुपर्ने कुरामा हामीले जोड दिँदै आएका छौँ । नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेका छन् ।

रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीहरुको यो चाहना छिट्टै पूरा हुनेछ भन्ने हाम्रो विश्वास छ ।

महामहिमज्यू,

महामहिमसँग यसअघि भएको छलफलबाट अभिप्रेरित हुँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्नका लागि मित्रराष्ट्र चीनसँगको सहकार्यलाई हामीले उच्च प्राथमिकताका साथ राखेका छाँै । हामीले जतिसक्दो चाँडो अतिकमविकसित मुलुकबाट स्तरोन्नत हुँदै सन् २०३० सम्मका लागि मध्यम आय भएका मुलुकका रुपमा परिणत हुने उद्देश्य राखेका छौँ ।

यस उद्देश्य प्राप्तिका लागि हाम्रो आन्तरिक स्रोत, साधन पर्याप्त नहुने हुँदा हामीलाई वैदेशिक लगानीको खाँचो छ । हामी चिनियाँ लगानीकर्तालाई उत्पादनशील क्षेत्र, पूर्वाधार तथा जलस्रोत विकासलगायत सामाजिक क्षेत्रमा लगानी गर्न आह्वान गर्दछौँ । सरकारले लगानीको पूर्ण सुरक्षा गर्नेछ ।

भूकम्पपश्चात्को पुनःनिर्माणमा चीनले पु¥याएको उदार सहयोगको हामी उच्च प्रशंसा गर्दछौँ । यसैगरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न चीन सरकारको सहयोगको अपेक्षा गरेका छौँ ।

जलवायु परिवर्तनका कारण हाम्रो पर्वतीय पर्यावरण र अर्थतन्त्र संवेदनशील बनेको छ । तसर्थ पर्वतीय पर्यावरण संरक्षण गर्दै अर्थतन्त्रलाई बलियो बनाउन अन्तर्रा्ष्ट्रिय प्रयास केन्द्रीकृत गर्ने उद्देश्यले आगामी वर्ष अप्रिल महीनामा काठमाडौँमा सगरमाथा संवादको आयोजना गर्ने तयारी गरिरहेका छौँ । सो कार्यक्रममा चीन सरकारका उच्च तहबाट प्रतिनिधित्व हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत