यसरी गरियो त्रिभुवन विमानस्थलमा चिनियाँ राष्ट्रपति सीको स्वागत(भिडियोसहित)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणका लागि शनिबार अपराह्न विशेष विमानबाट काठमाडौँमा आएका छन् ।
नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत अभिवादन गरेका थिए । सीलाई स्वागत गर्न राष्टपति भण्डारी भने विमानमै पुगेकी थिइन् ।
चीनका राष्ट्रपति सीको काठमाडौँ आगमनसँगै उनको राजकीय भ्रमण सुरु भएको छ ।
विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा काठमाडौंस्थित चिनियाँ दूतावासका उच्चअधिकारीले पनि राष्ट्रपति सीलाई स्वागत गरेका थिए ।
नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो ।
चिनियाँ राष्ट्रपति सीको नेपाल बसाइलाई आनन्ददायी बनाउन भव्य तयारी गरिएको छ । सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ । विमानस्थलकै मूलद्वार राष्ट्रपति सीको स्वागतका लागि आकर्षक पारिएको छ ।
विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका जनसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए ।
विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति आतिथ्यता एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिङ्गारिएको छ । विमानस्थल प्रवेशको स्वागतद्वारदेखि नै राष्ट्रपतिलाई विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत गरिएको थियो ।
चिनियाँ विशिष्ट पाहुनाको आवागमनका सडकमा ठाउँठाउँमा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका छन् ।
विमानस्थलबाट बाहिरिने द्वार, तीनकुने चोक, माइतीघर मण्डल, त्रिपुरेश्वर, कालीमाटी चोक ताहाचललगायत स्थान चिटिक्क सिङ्गारिएको छ ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सप्तरङ्गी इन्द्रेणीको अनुभव हुने गरी पानीको फोहरा निर्माण गरिएको थियो भने ढकमक्क फुलेका फूलले विमानस्थल र सवारी मार्गको शोभा नै बढाएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका समकक्षी सीबीच आजै राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता हुनेछ भने चीनका राष्ट्रप्रमुखको सम्मानमा राष्ट्रपति भण्डारीले आजै साँझ राजकीय भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।
२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो । चिनियाँ राष्ट्रपतिका साथ विदेशमन्त्री वाङ यीलगायत उच्च अधिकारी भ्रमणदलमा सहभागी छन् । राष्ट्रपति सीको यो भ्रमणलाई नेपाल–चीनबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध अभिवृद्धिमा दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ ।