लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै


बाँके । लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण प्रक्रियालाई व्यावहारिक बनाउने तयारी गरिएको छ । बाँकेको जानकी गाउँपालिका–३ मानपुरस्थित साइनिङ अस्पतालको बुधबार अनुगमन गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले निजी स्वास्थ्य संस्थाको दर्ता र नवीकरण प्रक्रियालाई सहज बनाइने बताए । उनले विगतमा प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानलाई हाल तीन वर्ष बनाइएको उल्लेख गरे ।

“मानव स्वास्थ्यसँग जोडिएको संवेदनशील क्षेत्र अस्पताल आफैँमा जिम्मेवार निकाय हो, यसको दर्ता र नवीकरणमा प्रदेश सरकारले व्यावहारिक हुने गरी काम गर्नेछ”, उनले भने, “विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै समस्या समाधानका लागि आवश्यक समन्वय गर्नेछ, त्यसका लागि अस्पताल पनि जिम्मेवार बन्न जरुरी छ ।”

प्रदेशको स्वास्थ्य क्षेत्रमा रहेका समस्या र तिनको समाधानका उपायबारे आफूले स्थलगत रूपमा अध्ययन गरिरहेको बताउँदै उनले सरकारी अस्पतालको स्तरोन्नति, सेवा प्रवाहमा प्रभावकारिता र अन्तर–मन्त्रालय समन्वयमा जोड दिइएको बताए ।

निजी स्वास्थ्य संस्थाले प्रदेशको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै उनले सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको स्पष्ट पारे ।

लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई व्यावहारिक बनाउन, नवीकरणको अवधि तीन वर्षबाट बढाएर पाँच वर्ष कायम गर्न सरकारसँग आग्रह गरेको प्रसङ्ग जोड्दै मन्त्री पुनले यसलाई व्यावहारिक बनाइने बताए ।

मन्त्री पुनले साइनिङ अस्पताल बाँकेले लुम्बिनी प्रदेशमात्र नभई पश्चिम नेपालकै जनतालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गर्न सफल भएकामा प्रशंसा गरे । सो अवसरमा अस्पतालका प्रमुख मङ्गल थारूले साइनिङ अस्पतालको सेवा प्रवाहका बारेमा जानकारी गराएका थिए ।